Wednesday, December 14, 2011

Kiraat Yele Sambat Declaration 2009

किराँत येले संवत-घोषणापत्र (३७२७, ८ महिना, तदनुसार सन् २००९, नोभेम्बर)

नवसमन्मय प्रकाशन प्रा.लि. तथा मुन्धुम पब्लिकेसन प्रा.लि.को संयुक्त पहलमा सन् २००९, अगष्ट १० तारिखमा आयोजित अन्तरकृया मार्फत येले संवतका बारेमा भएको छलफल र सो को उपयोगिता बारेका कुराहरुलाई मनन् गर्दै,

सन् २००९, सेप्टेम्बर १० तारिखका दिन चार किरात जातीय संगठनहरू[1]को संयुक्त ‘किरात समन्वय समिति’ले ‘किरात येले संवत’लाई अब उप्रान्त प्रचलनमा ल्याउँने निर्णय गरेको उदघोषलाई स्मरण गर्दै,

‘किरात समन्वय समिति’ र ‘किरात येले संवत अध्ययन समन्वय समिति’ले आयोजना गरेको किरात येले संवत अन्तर्राष्ट्र्यि विशेष विचार गोष्ठी २००९, नोभेम्बर १४-१५मा व्यक्त विज्ञहरूका विचारहरूलाई मनन् गर्दै,

नेपालका चारै किरात जातीय संगठनहरू किरात येले संवत सम्बन्धि यो घोषणापत्र जारी गर्दछौँ:

१। नेपालको ईतिहासमा गोपाल तथा महिसपाल वंशीहरू देखिए पनि किरात कालिन शाषकहरूका पहिला राजा यलम्बर (एलम्) को पालादेखि मात्र नेपाल एक राष्ट्रका रुपमा विकशित भएको हुनाले तिनै राजा यलम्बरको स्मारक संवतका रुपमा किरात येले संवत प्रचलनमा रहेको कुरा ऐतिहासिक रुपमा प्रमाणित भइसकेको छ ।

२। गोपालराज वंशावलीका आधारमा किरात रजा यलम्बरको कालखण्ड, ई. सं. २००९ बाट पूर्व कालगणना गर्दा, ३७२७ वर्ष ८ महिना हुन आएको समयलाई आधार मानि किरात येले संवतको काल निर्धारण हुन आएकोछ ।

३। ऐतिहासिक आधारमा प्रमाणित किरात येले संवतलाई नेपालका हामी चार किरात जातीय संगठनहरु आफ्नो संवतका रुपमा प्रचलन[2]मा ल्याउँने घोषणा गर्दछौँ ।

४। किरात मुदायमाझ कालगणना प्रणालीको रुपमा संचालित हुँदै आएको र किरात समाजको साँस्कृतिक ढुकढुकीका रुपमा रहेको किरात येले संवतलाई मान्यता प्रदान गर्नु राज्यको दायित्व हो । यसर्थ, करीव १५ लाख किरातहरुको जीवनपद्दती र मुल्य मान्यतासँग जोडिएको यस संवतलाई नेपाल सरकारले अविलम्ब मान्यता प्रदान गरी सम्पूर्ण किरात जातीलाई ‘नेपाल हाम्रो पनि राज्य हो’ भनि गौरवान्मित हुने वातावरण तैयार गरोस् भनि हामी माग गर्दछौँ ।

५। साथै, संसार भरिका किरातहरुलाई यसै घोषणा मार्फत ‘किरात येले संवत’लाई व्यबहारिक जीवनमा कार्यान्वयन गर्न, यसै घोषणा मार्फत, हामी हार्दिक आह्वान गर्दछौँ ।

१) किरात याक्खा छुम्मा २) किरात सुनुवार सेवा समिति

………………………… …………………………

( अध्यक्ष ) ( अध्यक्ष )

३) किरात याकथुङ चुम्लुङ ४) किरात राई यायोक्खा

………………………… …………………………

( अध्यक्ष ) ( अध्यक्ष )



[1] १) किरात याक्खा छुम्मा, २) किरात सुनुवार सेवा समिति, ३) किरात याकथुङ चुम्लुङ, ४) किरात राई यायोक्खा ।

[2] १) वर्ष आरम्भ र अन्त्य, २) तिथीहरूको गणना

No comments:

Post a Comment