Monday, May 16, 2016

लिम्बूजातिका सबै मिथक मुन्धुम हुन्, तर सबै मुन्धुम मिथकमात्रै होइनन् (डीबी आङबुहाङ)

लिम्बूजातिमा कुनै मुन्धुम्साबाले मुन्धुम वाचन गदै फलाक्दै जाँदा कतै भुल्यो वा छुट्यो भने यहाँनेर यो मुन्धुम् छुट्यो; हो, मुन्धुम् आयो वा अझ यसो भन्नूभनेर तुम्म्याहाङ्हरूले सचेत गराउने, सम्झाउने वा सघाउने परम्परा छ । यहाँ, सोही संस्कारअनुरुप मुन्धुम्साबा दुर्गाप्रसाद फोपाहाङ्द्वारा सङ्कलित तथा मञ्जुल याक्थुम्बाबाट सम्पादित/प्रकाशित मुन्धुम् र मिथकहरूको सन्दर्भमा एक तुम्म्याहाङ्ले गर्ने केही कर्म गर्न खोजिएको छ ।

१. मुन्धुम् र मुन्धुम्को प्रकार्य
नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित लिम्बूनेपालीअङ्ग्रेजी शब्दकोष (२०६७ः३४३) अनुसार मुन्धुम् भनेको श्रुतिपरम्परामा प्रचलित किरातलिम्बूधर्मशास्त्र । शास्त्र; ज्ञान वा मिथकहो ।

डा. चैतन्य सुब्बा (सन् १९९८ः ३)ले मुन्धुमलाई पद्यात्मक भाषामा भएको एक लोकसाहित्य, किंवदन्ती, प्रागऐतिहासिक अभिलेख, धर्मोपदेश तथा नैतिक वा दार्शनिक उपदेशका रुपमा अथ्र्याउँदै मौखिक परम्परामा जीवित धर्मग्रन्थका रुपमा परिभाषित गरेका छन् ।

प्राज्ञ वैरागी काइँला (२०५२ः घ) का अनुसार ‘‘मुन्धुमका अनुयायी किरातजातिहरूमा लिम्बू जातिका लागि मुन्धुम् भनेको जीवनको आधार हो । लिम्बूजातिको सामाजिक, सांस्कृतिक वा नैतिक र धार्मिक धारणा, आस्था र आचरणको चरम परिणति नै अनेक मिथक, गाथा र लोककथाहरूमा अभिव्यक्त भई श्रुति परम्पराको रुपमा युगौंयुगदेखि जीवित छ र तिनै समष्टिलाई मुन्धुम् भनिन्छ ।’’

याक्थुङ् मुन्धुम्को प्रकार्यलाई जोड दिँदै चुम्लुङ् केन्द्रका पूर्व अध्यक्ष अर्जुन नुगो लिम्बू (२०६९ः १६७) ले ‘‘मौखिक र लिखित परम्परामा विश्व ब्रह्माण्डको सृष्टि, जीवजन्तुको उत्पत्ति, मानवको जीव र प्रकृतिसँगको सम्बन्ध, लौकिक र परलौकिक शक्तिबीचको सम्बन्ध र मानव विकासक्रममा मानव भलाइका लागि प्राप्त ज्ञान र सीपहरूको सविस्तार व्याख्या र वर्णन याक्थुङ मुन्धुमले गर्दछ’’ भनेका छन् ।

२. मिथक र मिथकको प्रकार्य
‘‘मिथकअङ्ग्रेजी शब्द ‘Myth’ को खसनेपाली रुपान्तरण हो । यो ग्रिक शब्द ‘Mythos’ बाट आएको हो । यसको अर्थ अज्ञात सृष्टि वा उत्पत्तिको ‘‘कथन, विचार, कथा वा मिथक’’ भन्ने हुन्छ । आदिम मानिसहरूका लागि आफ्नो वरिपरिको संसारसँग परिचित हुने ज्ञानको पहिलोे स्रोतको रुपमा मिथकलाई लिइन्छ ।
सामान्यतः मिथया मिथकभन्ने शब्दले चारित्रिक प्रवृत्तिमा पवित्र वा धार्मिक कथाहरूलाई जनाउँदछ । ती कथा विषयवस्तुको हिसाबले वैयक्तिक अथवा उपाख्यानात्मकभन्दा पनि सामाजिक हुन्छन् । साथै, प्राकृतिक, अलौकिक वा सामाजिकसांस्कृतिकजस्ता परिघटनाहरूको उत्पत्ति वा सृष्टिसँग सम्बद्ध हुन्छन् (सिमौरस्थिम, सन् १९८६ः २०३) ।

मिथक, परीकथा, किंवदन्ती र लोककथा उस्ताउस्तै लाग्न सक्छन् । तर यिनीहरूमा केही भिन्नता छन् । परीकथा गद्यमा वैयक्तिक रुपमा भनिन्छ । यसमा कुनै विशेष समय र ठाउँको उल्लेख हुँदैन । ‘‘कुनै एक समयएकादेशमा…’ भनेर भनिन्छ । तर मिथकमा भने कथा उत्पत्ति भएको ठाउँ र नायक पात्रहरूको नामै उल्लेख गरी वर्णन समेत गरिएको हुन्छ । दन्त्यकथा समाज सेवा गर्ने महापुरुष वा नारीहरूको कथा हो । सोही कथामा भएको महापुरष÷नारीजस्तै होऊन् भन्ने सन्देश दिन दन्त्यकथा वा पौराणिक कथाहरू भन्ने गरिन्छ’’ (एस्जी भानेगौंकर सन् २०१२ः १) ।

गोर्डोन मार्शलले अक्सफोर्ड डिक्सनरी अफ् सोसिअलजी (सन् २००५ः ४३७) मा परिभाषित गरेअनुसार ‘‘मिथक प्राकृतिक, अलौकिक, वा सांस्कृतिक परिघटनाको उत्पत्ति वा सृष्टिसँग सम्बद्ध विषयवस्तु भएको पवित्र एवम् धार्मिक कथा हो ।’’

ज्याक्लिन साम्प्सन र स्टेभ रोउड (सन् २०००ः २५४) ले मिथकलाई धर्मसँग नजिक भई जोडिने ईश्वरीय अस्तित्व भएका कुनै शासक वा मान्यवरद्वारा नियुक्त मानव, जीव, पशुपन्छीसँग सम्बद्ध व्यवस्थित सत्य तथा पवित्र कथाका रुपमा व्याख्या गरेका छन् । जब यो सम्बन्ध टुट्छ तब त्यो मिथक नभई लोककथा बन्न जान्छ । जहाँ केन्द्रीय पात्र ईश्वरीय हुँदाहुँदै पनि कथाचाहिँ तुच्छ किसिमको हुन्छ, तब त्यो मिथक नभई धार्मिक किंवदन्ती वा दन्त्यकथा बन्न जान्छ । प्राज्ञ वैरागी काइँला (२०६५) का अनुसार ‘‘लोककथाहरू काल्पनिक हुनाले विश्वास नगरे पनि हुन्छ । तापनि रोचक र मनोरञ्जक शैलीमा तात्कालिक समाजमा व्याप्त रुढि, अन्धविश्वास र विसङ्गतिप्रति तीव्र व्यङ्ग्यसहित अर्तीउपदेशमूलक, शिक्षाप्रद हुनाले लोककथाको पनि सामाजिक महत्व ठूलो हुन्छ ।’’

मिथकहरू संस्कृतिका आत्मा हुन् । कुनै समाज र संस्कृतिमा मिथकको महत्त्वपूर्ण भूमिका हुन्छ । मिथकमा यस्ता विभिन्न कथा हुन्छन् जसले आदिम र केही आधुनिक मानिसले सत्य, अनुभव र मनोरञ्जनको रुपमा हेर्ने सबै पक्षलाई समेटेको हुन्छ । मिथकका धेरै प्रकार्य हुन्छन् ।

केभिन अस्बर्न र डाना बुर्गिज (सन् १९९८) का अनुसार ‘‘एक मानवीय स्वभावको रुपमा कुनै व्यक्ति जहिले पनि हरेक कुराबारे जान्न चाहन्छ । उसले किनभन्ने प्रश्नको उत्तर खोज्दछ । आदिम मानिसहरूको उनीहरू वरिपरिका सबै कुराबारे जान्ने उत्सुकता र चाहनाले त्यस्ता मिथकको सिर्जना गर्नेतर्फ उनीहरूलाई अग्रसर गरायो । यसले विश्वब्रह्माण्डको सृष्टिजस्ता अज्ञात कुराबारे व्याख्या गर्ने ज्ञान दियो । उनीहरूले सृष्टिको उद्देश्यबारे पनि केही आधारभूत र विहङ्गम प्रश्नको उत्तर दिने कोसिस गरे । साथै, कुनै घटना किन हुन्छ भन्नेबारे पनि उनीहरूले व्याख्या गर्न थाले ।’’ 

लेज्ली अस्बर्न र केभिन बल्टन (सन् १९९८, २००२) ले कर्मकाण्डसँग सम्बद्ध मिथकको व्याख्या गरेअनुसार मिथकले धार्मिक उद्देश्यको पनि परिपूर्ति गर्दछ । प्रत्येक धर्मका आआफ्नै कर्मकाण्ड हुन्छन् जुन उनीहरूले गर्नै पर्दछ । मिथकले आदिम मानिसहरूले मान्ने धर्मको कर्मकाण्डीय पक्षहरूबारे व्याख्या र औचित्य पुष्टि गर्दछ ।
समाजमा सामाजिक सन्तुलनको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । जुनसुकै समाजमा पनि कुनै नेतृत्व हुन्छ जोसँग उनीहरूको उत्तरदायित्व देखाउने र त्यसको नियमन गर्ने भूमिका हुन्छ । हरेक समाज सामाजिक नियममा रहनुपर्दछ र प्रत्येकले आफ्नो अधिकार थाहा पाउनुपर्दछ । कसैले पनि अरुको अधिकार हनन गर्नुहुँदैन नत्र समाज रहँदैन । यस्ता नियम पूर्वजहरूले विभिन्न मिथकमार्फत् स्थापना गरे । मिथकले समाजलाई सन्तुलनमा राख्ने नियम प्रतिविम्बित गर्दछ । त्यसैले मिथकमा यस्ता सामाजिक गुण हुन्छन् जसले के गर्नु हुन्छ र हुँदैन कुरा भन्ने देखाउँदछ ।
मानवशास्त्रीहरूबीच विगतमा मिथक र कर्मकाण्डमध्ये कुनचाहिँ पहिलो कुरा हो भन्ने विषयमा विवाद थियो । तर अहिले आएर उनीहरु मिथक र कर्मकाण्डबीच परम्परमा अन्तरसम्बद्ध हुन्छन् भन्ने निष्कर्षमा पुगेका छन् (सिमौरस्थिम, सन् १९८६ः२०३) । 

जोसेफ क्याम्पबेल (सन् १९९१)ले मिथकको प्रकार्यलाई ‘‘रहस्यात्मक, ब्रह्माण्डीय, सामाजिक र शैक्षणिक गरी चार तहमा व्याख्या गरेरका छन् । रहस्यात्मक प्रकार्यले ब्रह्माण्ड र जीवहरूको सृष्टिबारे रहस्यात्यक र आश्चर्यजनक कुरामा मानिसको ध्यानलाई आकृष्ट गर्दछ । ब्रह्माण्डीय प्रकार्यले ब्रह्माण्डको आकार यसमा निहित विभिन्न कुरालाई देखाउँदछ । मिथकले ब्रह्माण्ड र यसमा निहित वस्तुहरूबारे पूर्ण व्याख्या गर्दछ । सामाजिक प्रकार्यले नैतिक आचरणबारे व्याख्या गर्दछ । शैक्षणिक प्रकार्यले मानिसलाई विभिन्न परिस्थितिमा जीवनकालभरि कसरी जीवनयापन गर्ने भन्नेबारे सिकाउँदछ ।’’ साथै, क्लाउड लेभिस्ट्रउस (सन् १९५५ः ४२८४४४) ले मिथकको संरचनात्मक अध्ययन गरेका छन् ।

फ्रिट्जोफ क्याप्राले द ताओ अफ् फिजिक्स (सन् १९८२ः५१) मा उल्लेख गरेअनुसार मिथकले शब्दहरूमा अभिव्यक्त गर्न सकिने सबैभन्दा नजिकको पूर्ण सत्यलाई प्रतिनिधित्व गर्दछ । प्राज्ञ वैरागी काइँलाले लिम्बुवानको लोककथा (धनहाङ सुब्बा, २०६५)मा लेखे अनुसार ‘‘मिथक अथवा लोककथा अलगअलग हुन् । कल्पनाको पुटसँगै इतिहासको झझल्को बोकेको मिथक सत्यतामा आधारित हुन्छ, त्यसैले विश्वसनीय हुन्छन् । मिथकमा ब्रह्माण्डको उत्पत्ति, सृष्टिकथा, चराचर जगत, मान्छेको सृष्टि, पशुपन्छी, कीटपतङ्गदेखि मनुष्यसमाजको विकास र प्रलयसम्मको वर्णन हुन्छन् । र, तिनको अनुष्ठानिक महत्व पनि हुन्छ ।’’

यसर्थमा यसो भन्न सकिन्छ कि लिम्बूजातिका सबै मिथक मुन्धुम् हुन् । तर मुन्धुमजति सबै मिथकमात्र होइनन् । मुन्धुमले मिथकका सबै अवयबलाई समेट्दछ । अतः मिथक सबै मुन्धुम् हुन् । तर मुन्धुम् मिथकमात्र होइन । मुन्धुम् अरु पनि धेरै र अझ सबै कुरा हो । यसर्थ, यस कृतिको शीर्षक मुन्धुम् र मिथकहरूरखाइ पनि सार्थक नै देखिन्छ ।

 

३. याक्थुङ् मुन्धुम वा मिथक तथा लोककथा
किरात याक्थुङ/लिम्बूजातिका हालसम्म प्राप्त भएका लोकसाहित्यमा पर्ने मुन्धुम वा मिथक तथा लोककथा समेटिएका प्रकाशित कृति निम्नानुसार रहेका छन् :

इमानसिंह चेम्जोङ, किरात मुन्धुम (२०१८); काजीमान कन्दङ्वा, नेपाली जन साहित्य (२०२०); इमानसिंह चेम्जोङ, किराती दन्त्यकथा (२०२१), किरात मुन्धुम खाहुन् (सन् १९६५), कृष्णबहादुर लावती, ईशवन्दना तथा सृष्टिवर्णन (२०२३); इमानसिंह चेम्जोङ्कै हिस्ट्री अ्याण्ड कल्चर अफ् किरात पिपुल (सन् १९६७), लिम्बू भाषामा लिखित किरात मुन्धुमको देवसीभैलो पुस्तिका (सन् १९८५); आसमान सुब्बा, किराँत साम्यो नु येच्छाम्थिम् (२०४५); धनबहादुर आङ्लाबाङ लिम्बू, किरात परम्पराः लिम्बू रीतिथिति र संस्कृति (सन् १९८९); विक्रम सुब्बा, सुम्निमा पारुहाङ्ः मुन्धुम काव्य (२०४५); रनधोज सिरेङ चोङ्बाङ, एकराते तङ्सिङ् मुन्धुम (२०४६); शिवकुमार श्रेष्ठ, किराँती लोककथाहरू (२०४७); तेजबहादुर लिम्बू (मेन्याङ्बो), सावाला साम्लो सावला कुबे मुन्धुमः सृष्टि गीतिमाला (सृष्टिको कथा) (२०४८); बैरागी काइँला, लिम्बू जातिमा कोखपूजा (२०४८); रणधोज श्रेङ (लम्बू), किराँत सुमसेम्बा याग्राङ्सिङ (२०४९); किरात चोत्लुङ् अङ्सि माङ्गेन्ना सेवा, किरात साम्जिक् मुन्धुम (२०५९); सत्तेहाङ्मा चुम्भो, चम्चिक् मुन्धुम (२०५०); रणधोज श्रेङ, किराँत याक्थुङ्बा (मेखिम) फुङ्नावा साम्लो मुन्धुम (२०५०) ।

त्यस्तै शिवकुमार श्रेष्ठ, किराँती लोककथा सँगालो (२०५१); वैरागी काइँला, ईष्र्या र आँखीडाहीको आख्यान (२०५१), प्रेतात्माको आख्यान र अनुष्ठान (२०५१); दुर्गाप्रसाद फोपाहाङ, नावा चइत् मुन्धुम (२०५१); रनधोज सिरेङ् चोङ्बाङ, याक्थुङ मुन्धुम (२०५१); वैरागी काइँला, मोचमार्ने खाख्यान र अनुष्ठान (२०५२), तङ्सिङ् तक्मा मुन्धुम (२०५२); नरबहादुर योङ्हाङ, वालीहाङ् तङ्नाम् लारिङ्गे (२०५३); लक्ष्मीकुमार सेर्मा, याक्थुङ पाङ्खेÞदा? (२०५५); डा. चैतन्य सुब्बा, द कल्चर अ्याण्ड रिलिजन अफ् लिम्बुज (सन् १९९५); देवकुमार सङ्पाङ्फे, याक्थुङ तङ्नाम (२०५६); रनबहादुर मेन्याङ्बो, किरात येत्हाङ् साम्जिक् मुन्धुम (२०५७); सत्तेहाङ्मा चुम्भो, चम्जिक् मुन्धुम (२०५७ कात्र्तिक, दोस्रो संष्करण); नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, बहभाषिक सयपत्री, लिम्बू भाषा लोककथा अङ्क (२०५७); किरात धर्म संरक्षण समिति, सेचाक् महयं मुन्धुम (२०५८); खगेन्द्रसिं आङ्बुहाङ, किरात याक्थुङ्बा यÞेबा मुन्धुम (२०५८); मेलाइन पापडिज, लिम्बु फोल्कलोर (सन् २०००); तेवबहादुर तुम्बापो, साप्योक् लिङ्योक् मुन्धुम (२०६० कात्र्तिक); वैरागी काइँला, चइःत् मुन्धुम (२०६०) ।

त्यस्तैतेजबहादुर फागो, सावा यÞेत्हाङ् मुन्धुम (२०६०); हस्तलाल सावादेन, सुसुमेत्ले कुबोक्मा कुसाम्मा (२०६०); जसराज सुब्बा, मुजोक्लुङ् खाजेक्लुङ् मुन्धुम (सन् २००३), सिमेरिङ् मुन्धुम (सन् २००३); लक्ष्मण मेन्याङ्बो, लिम्बू मृत संस्कारहरू (२०६१); इजम ईश्वरचन्द्र माबोहाङ, या?लाक्मा मुन्धुम (२०६१); लक्ष्मण मेन्याङ्बो, याक्थुङ् मुन्धुम (२०६२); नेत्रप्रसाद पुङ्लाइङ, याक्थुङ् येत्छाम्पाचा थिम् मुन्धुम (२०६२); माबोहाङ मेहेरमान लाबुङ, तङ्सिङ् मुन्धुम (२०६४); चन्द्रकमार सेर्मा, किरातका गाथा, कथा र लोककथाहरू (२०६४); धनहाङ् सुब्बा, लिम्बुवानका लोककथा (२०६५); रनधोज सिरेङ चोङ्बाङ, बलिहाङ तङ्नाम लारिङ्गेक् नाम्लिेङ्गेक् मुन्धुम (२०६५); क्षितिज सुब्बा, बाजाहाङ नु योनाहाङ (२०६६); बुद्धि खाम्धाक, याक्थुङ् मुन्धुम (सन् २००९); साम्बा रैप्रसाद हुक्पा चोङ्बाङ, साम्बा मुन्धुम (२०६६); रनध्वज सिरेङ्, ङामुक्साम् (२०६८); धु्रवकुमार मेन्याङ्बो र अर्जुनबाबु माबुहाङ, सिभाक यामि मुन्धुम (२०६६); अर्जुनबाबु माबुहाङ, लिम्बू जातिको मुन्धुम र इतिहास (२०६९); एस्.पी. माङ्युङ लिम्बू, आनि? तेÞन्धाम् मेःक्खिम् थिम् नु थाप्लाहा? (सन् २०१३); नेपाल प्रज्ञाप्रतिष्ठान, बहुभाषिक सयपत्री अर्धवार्षिक, किरात उत्पत्ति आख्यान विशेषाङ्क (२०६९); विरही काइँला, याक्थुम्बारेÞन् सिदोःबा थिम् (सन् २०१३, दोस्रो संस्करण); दुर्गाप्रसाद फोपाहाङ्, मुन्धुम र मिथकहरू (२०७०) सम्पादक/प्रकाशकः मञ्जुल याक्थुम्बा, ललितपुर ।

मिथकहरूलाई कविता, कथा र आख्यान साहित्यमा उपयोग गर्ने अभियान पनि चलेको छ । लिम्बूजातिका विभिन्न वंशावलीमा पनि यी मुन्धुम र मिथकको चर्चा गरिएको छ । यिनीहरूको बारेमा पनि थप अध्ययन हुन जरुरी छ ।

४. मुन्धुम र मिथकहरूकृतिको स्थान
दुर्गाप्रसाद फोपाहाङद्वारा सङ्कलित तथा मञ्जुल याक्थुम्बाद्वारा सम्पादित/प्रकाशित मुन्धुमी मिथकहरु समेटिएको २०७० माघसम्मको अन्तिम कृति हो । यसमा जम्मा २८ वटा मुन्धुमी मिथक सङ्ग्रहित छन् । सम्भवतः यो अहिलेसम्मको सबैभन्दा धेरैवटा खाँट्टी मुन्धुमी मिथक सङ्कलन गरी प्रकाशित गरिएको पहिलो किरात लिम्बू मुन्धुमी मिथकसङ्गह हो ।

यस कृतिका मूल सङ्कलकको निधन भइसकेकोले उनीबाट थप सुधार हुने हेतुले कुनै समीक्षा गरिरहनु आवश्यक परेन । यस कृतिका सम्पादक मञ्जुल याक्थुम्बाबाट अझ पनि यस्ता कृतिका सम्पादन तथा प्रकाशन हुने आशा गर्न सकिने भएकोले यसको सम्पादनसँग सम्बद्ध केही कुरामात्र यहाँ उप्काउन कोसिस गरिएको छ ।
सिङ्गो किरात याक्थुङ मुन्धुम र मिथकहरूकै समीक्षा यसै कृतिको सन्दर्भमा गर्न समग्रता, तुलानात्मक र एकएक गरी मुन्धुमी मिथकहरूको अध्ययन गर्न आवश्यक हुन्छ । यो समग्र अध्ययन यही प्रसङ्गमा यसै लेखमा गर्न सकिएन ।

सम्पादकले कृतिको शुभाराम्भमै सम्पादक तथा प्रकाशकको कलमबाट दुर्गाप्रसाद फोपाहाङ र उनको मुन्धुम वृतान्त दिएका छन् । उनले मुन्धुमसाबा फोपाहाङ्का मुन्धुम सङ्लकन तथा लेखनका केही कमजोरीसमेत आफैले खुलस्त पारेकाले ती सबैको यहाँ चर्चा गरिएन ।

यो मुन्धुम र मिथकहरू लिम्बुवानको फेदाप् र आठराईको प्रतिनिधि सङ्कलन हो । यसो हुँदाहुँदै पनि याक्थुङ्लाजे लिम्बुवानभरका प्रचलित मुन्धुम र मिथक यसमा समेटिएका छन् । यतिका मुन्धुम सङ्कलन गरी लेख्नु सानो मेहनतले हुने कुरा होइन । यहाँ मुन्धुम र मिथकहरूको गहन समीक्षाभन्दा पनि यस्ता कृतिलाई गहन रुपमा अध्ययन गर्नका लागि आवश्यक आधारभूत कुराबारे चर्चा गर्नमा अलिक जोड दिइएको हो । फरस्वरुप, यस्ता कृतिमा सबैको ध्यान जान सकोस् र सो आधारमा बुझ्न सकियोस् भन्ने हो ।

यी मुन्धुम र मिथकले किरात याक्थुङ (लिम्बू)जातिहरूका ऐतिहासिक पृष्ठभूमि र उनीहरूको पहिचानलाई समेत अभिव्यक्त गर्दछन् । यस्ता मुन्धुम लिम्बूजातिको पहिचान र लिम्बुवानको सामाजिक, सांस्कृतिक र राजनीतिक अभियानमा समेत मार्गदर्शनको रुपमा स्थापित हुन सक्दछन् । हामीले मुन्धुममा के छ भन्नेसँगै यसले के भन्न खोजेको हो भन्नेतर्फ ध्यान दिएर मुन्धुमको मर्मलाई समय, स्थान र परिस्थितिअनुकूल व्याख्या गर्दै जीवदर्शनको रुपमा बुझ्दैबुझाउँदै लैजानु आजको आवश्यकता हो ।

लिम्बुवानतिर लिम्बू समाजमा अझै पनि कुनै अप्रिय, अनौठो, अनपेक्षित घटना भयो भने ‘‘मुन्धुमरक् पोःक्सेÞ/पोःक्खेÞरो’’ (मुन्धुममात्र भयो है) भन्ने चलन छ । ‘‘मुन्धुममात्र भयो या बनायौ है’’ भनिन्छ । यसको अर्थ मुन्धुमहरू बनिरहने प्रक्रियाको सङ्केत पनि हो ।
यस सङ्ग्रहमा सृष्टिदेखि मानव विकास, सभ्यता र संस्कारसंस्कृति निर्माणका पछिल्लो अवस्थासम्मका मिथक छन् । यिनलाई केही तलमाथि भएको बाहेक प्रायः सङ्कलित मुन्धुम र मिथकलाई उत्पत्ति समयक्रमको हिसाबले पनि पहिले र पछिको मिथकलाई सोही अनुसार क्रम र सन्दर्भ मिलाएर राखिएको छ । अतः यसले सृष्टिदेखि सभ्यताको विकास, संस्कारसंस्कृतिको जन्म र विकाससम्मको मिथकीय घटनाक्रम देखाउँदछ ।

यस सङ्ग्रहले सर्वसाधारणका लागि मुन्धुमलाई बुझ्न सहज र सजिलो बनाइदिएको छ । मुन्धुमका स्रोतव्यक्तिहरू दिनानुदिन बित्दैछन् । मौखिक मुन्धुमहरू सबै लेखिएका छैनन । लेखिएकालाई अध्ययन र अनुसन्धान गर्ने परम्परा पनि कमी छ । यस्तो अवस्थामा यस्तो कृति आउनु लिम्बूजाति र समाजका लागि गौरवको कुरा हो । यो मुन्धुम र मिथकहरूलाई मौलिक किरात लिम्बू (याक्थुङ) भाषामै लेखिएको भए यसको मौलिकता अझ बच्दथ्यो । यसले याक्थुङ भाषालाई पनि थप टेवा पुर्‍याउँदथ्यो ।

यसमा प्राविधिक रुपमा केही टङ्कन त्रुटि छन् । लिम्बू भाषालाई देवनागरी लिपिमा आलेखन गर्दाका मात्रा कहीं अपुग छन् । यिनीहरू आगामी संस्करणमा सुधार हुने आशा गर्न सकिन्छ । कृतिको बाहिरी आवरणमा सीधै सम्पादकको मात्र नाम राखिएकोले यो कृति उनैको मात्र हो कि भन्ने केही भ्रम पनि कसैलाई पर्न सक्दछ । कृतिको भित्री पृष्ठमा सङ्कलकको विवरण स्पष्टरुपमा दिइएकोले त्यो भ्रम रहिरहँदैन । अरु जे भए पनि यो कृतिको सम्पादन र प्रकाशन गर्ने काम मञ्जुल याक्थुम्बाबाट नभएको भए योभन्दा अझ राम्ररी र यति छिटोगरी अरु कोबाट हुन्थ्यो होला

५. मिथक कथाले मार्गनिर्देश गर्ने जीवनदर्शन
मुन्धुममा शून्यबाट सृष्टि भएझैं केही नहुनुको बीचमा केही न केही विकल्प र सम्भावना हुने रहेछन् भन्ने ज्ञान आर्जन गर्न सकिन्छ । केही नहुनुको बीचमा धर्ती आकासमात्र भएर पनि सबै कुरा नहुँदो रहेछ । त्यहाँ पनि बोटविरुवा उमार्न, पानी पार्न र आगोको आविष्कार गर्न अनि त्यही आगोबाट बच्न मुन्धुमी मिथकमा भएका प्रयास र खोजिएका विकल्पलाई गहिरिएर बुझ्न सक्दा वास्तवमै जीवनपयोगी छन् । त्यतिले मात्र नभएर समाज र सम्यताको सुरुवात तथा विकासक्रममा भएका विभिन्न उतारचढाव धेरै व्यावहारिक छन् । यी मुन्धुम र मिथकहरूमा वर्णन गरिएका प्रसङ्ग र वस्तुलाई लिएर यिनको मानवशास्त्रीय अध्ययन गर्न सकिन्छ । यसले सोको समयकाल र अन्य कुराको पनि जानकारी मिल्दै जानेछ ।

६. सङ्कलक दुर्गाप्रसाद फोपाहाङबारे
यस कृति मुन्धुम र मिथकहरूका सङ्कलक मुन्धुमसाबा दुर्गाप्रसाद फोपाहाङ्को जन्म १९८२ वैशाख ९ गते तेह्रथुमको खाम्लालुङ् ५ मा भएको थियो । याक्थुङ् मुन्धुमबारे चिन्तित भई यसका लागि काम गर्दागर्दै २०६६ माघ २६ गते उहाँको निधन भयो । फोपाहाङ्ले किरात जाति, किरात धर्म, किराँत वंशावली र लिम्बुवानसम्बन्धी मत भएको कृति अभिमत मत’ (२०५६) आफैले प्रकाशन गर्नुभएको थियो । उहाँको दोस्रो कृति नावा चइःत् मुन्धुम’ (२०५१) मञ्जुल याक्थुम्बाद्वारा प्रकाशन गरिएको थियो । यो मुन्धुम र मिथकहरू (२०७०) मञ्जुल याक्थुम्बाद्वारा सम्पादित/प्रकाशित उहाँको अन्तिम कृति हो । किरात याक्थुङ चुम्लुङ्बाट प्रकाशित तान्छोःप्पा पत्रिकामा उहाँका अन्य विविध मुन्धुमी लेखरचना प्रकाशित छन् ।
सन्दर्भसूचीः
काइँला, वैरागी ।२०५२। तङ्सिङ् तक्मा मुन्धुम : आख्यान र अनुष्ठान । काठमाडौं: नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
काइँला, वैरागी । २०६५ । धनहाङ सुब्बाको ‘‘लिम्बुवानको लोककथा’’ : छोटो मन्तव्य । लिम्बुवानका लोककथाहरू । सं. धनहाङ सुब्बा । हाङ्मा लाबुङ (साँवा) ।
नेपाल प्रज्ञाप्रतिष्ठान । २०६७ । लिम्बूनेपालीअङ्ग्रेजी शब्दकोष । स. इमानसिंह चेम्जोङ र बैरागी काइँला आदि । पृष्ठ ३४३
नुगो, अर्जुन । २०६९ । याक्थुङ मुन्धुम संरक्षणको प्रश्न । चुम्लुङहिम अभिलेख । स. युवराज लिम्बू, आदि । ललितपुर: किरात याक्थुङ चुम्लुङ, ललितपुर ।
Bhanegaonkar, S.G., Ph D. 2012. Meaning, Origin and Functions of Myth: A Brief Survey. International Journal of Social Science Tomorrow Vol. 1 No. 3. India: IJSST The Journal Society.
Bolton, Lesly.2002. The Everything Classical Mythology Book : Greek and Roman gods, goddesses, heroes and monsters from Ares to Zeus. Adams Media Corporatio.
Campbell, Joseph. 1949. The power of Myth. New York: Anchor Books.
Campbell, Joseph.1991. The Hero with A Thousand Faces. Princerton: Princerton University Press.
Capra, Fritjof. 1982. The Tao of Physics. London: Falmingo
Levi-Strauss, Claude. 1955. The Journal of American Folklore, Vol. 68, No. 270, Myths: A Symposium, (Oct. – Dec. 1955), pp. 428-444
Marshall, Gordon. 2005. Oxford Dictionary of Sociology. Oxford University Press, Indian Edition.
Osborn, Kevin, and Dana Burgess. 1998. The Complete Idiot’s Guide to Classical Mythology. New York: Alpha Books,
Sampson, Jacqueline, and Steve Roud. 2000. The Dictionary of English Folklore. New York: Oxford University Press.
Seymour-Smith, Charlottee.1986. Mackmillian Dictionary of Anthropology. London. Macmillan Press Ltd.
Subba, Chaitanya. 1998. The Culture & Religion of Limbus. Kathmandu: KB Subba


No comments:

Post a Comment