कृष्णप्रकाश श्रेष्ठ
किरात जातिको नालीबेली र संस्कृति
संयोजक
रूस नेपालविद्या केन्द्र
मास्को
२०१०
यस पुस्तिकाको सन्दर्भमा
नेपालको प्रचीनतम आदिवासी किरात जातिको बारेमा नेपाली
भाषामै पनि अनुसंधानात्मक कृतिहरुको अभाव खटकिरहेको परिप्रेक्ष्यमा यो सानो
पुस्तिका नेपाली भाषाभाषी पाठकहरुको करकमलमा समर्पण गर्दैछु । यसबाट किरात जातिको
भौतिक तथा बौद्धिक सम्पदा, रीतिथिति, इतिहास तथा संस्कृतिको बारेमा केही बढी जानकारी
प्राप्त गर्न सक्नेछन् भन्ने आशा छ । यस पुस्तिकाबाट पाठकले हिमालय भेकका प्राचीन जातिको
रुपमा अस्तित्वमा रहेको किरात जातिको किञ्चित् परिचय पाउन सके भने लेखकले आफ्नो श्रम
पूर्णतः सार्थक भएको ठान्नेछ । सहृदयी पाठकबाट यसमा रहन गएका त्रुटिबारे सूचना
पाउने विश्वासका साथै मुन्धुम प्रकाशनबाट यसको प्रकाशनको व्यवस्था मिलाइदिनुहुने मेरा
साहित्यक बन्धु श्री बिक्रम सुब्बाप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । धन्यवाद
!
विनीत
कृष्णप्रकाश श्रेष्ठ
२१ अक्टोबर २०१०
मास्को, रूस महासंघ ।
विषयसूची
प्राक्कथन
किरात जनजातिहरु
किरात जातिको उत्पत्ति
किरातहरुको स्थानान्तरणबारे किम्बदन्तीहरु
आफ्नो वंशबारे किरात पुराकथाहरु
किरात जातिका थरहरु
किरात पुरोहितहरु र झाँक्रीहरु
किरात जातिमा पूर्वज पूजा
किरात जातिका देवदेवीहरु
जीवनचक्रको रीतिथिति
किरात जाति : बौद्ध कि हिन्दू ?
मुन्धुम : धार्मिक एवं न्यायिक ग्रन्थ
किरात जातिको इतिहास
रुसमा किरात जातिको अध्ययन
उपसंहार
सन्दर्भ ग्रन्थसूची
किरात जातिको नालीबेली र संस्कृति
कृष्णप्रकाश श्रेष्ठ
प्राक्कथन
हाल हिमालय पर्वतको पूर्वी काखमा बसोवास गर्ने किरात जातिहरुको उपस्थिति यस क्षेत्रमा परापूर्व कालदेखि नै रहिआएको थियो । किरात जातिको इतिहासबाट के पनि थाहा पाइन्छ भने पूर्वी नेपालका वासिन्दाहरु मात्र नभई भारतका पूर्वी पहाडी इलाका, आसाम, सिक्किम, भूटानको साथै म्यान्मा (बर्मा), थाइल्याण्ड (श्याम), कम्बोडिया, भियतनाम, फिलिप्पीन आदि देशहरुमा बसोवास गरिरहेका पहाडी जनजातिहरु समेत किरात जातिअर्न्तर्गत पर्दछन् (२१, खण्ड १, पृ. १५) । प्राचीन कालमा वर्तमान नेपाल लगायत हिमालय पर्वतको सम्पूर्ण दक्षिणी काख
किम्पुरुषदेश (किन्नर शब्द पनि यसकै
पर्याय हो कि ? – कृष्णप्रकाश श्रेष्ठ) अर्थात् किरातभूमि भनिन्थ्यो (४९, पृ. १००) । अझै पनि काठमाडौं उपत्यकाबाट पूर्वतर्फ रहेको पहाडी क्षेत्र किरातप्रदेश भनी प्रसिद्ध रहेको छ । यो भूखण्डलाई तीन भागमा विभाजित गर्ने परम्परा रहेको छ : १) वल्लो किरात अर्थात् काठमाडौं उपत्यकाको सर्न्दर्भमा सबभन्दा निकटमा रहेको किरात भूमि, २) माझ किरात अर्थात् किरातहरुको मध्यस्थ भूमि र ३) पल्लो किरात अर्थात् काठमाडौं उपत्यकाबाट निकै पर रहेको किरात भूमि । दूधकोशी नदीसम्म फैलिएको वल्लो किरातमा मुख्यतः सुनुवार, जिरेल तथा खुम्बु (राई) जातिका किरातहरुको बसोवास रहेको छ भने दूधकोशीदेखि अरुणकोशीसम्म फैलिएको माझ किरातमा मुख्यतः खम्बु (राई) जातिको बाहुल्यता रहेको छ । यसैको आधारमा यो भूखण्ड खम्बुवान अर्थात खम्बु जातिको भूमि भन्ने नामले पनि प्रसिद्ध छ । अरुणकोशीभन्दा पूर्वतर्फ रहेको पल्लो किरात मुख्यतः लिम्बु जातिको बसोवासको क्षेत्र हो र यो भूखण्ड दश लिम्बुवान पनि भनिन्छ । त्यसको पनि पूर्वतर्फ रहेको भूभागमा चाहिं मुख्यतः लेप्चा जातिका किरातहरुको बसोवास छ । सम्भवतः पहिले नेपालको सीमा टिस्टा नदीसम्म निर्धारित गरिएको वेला सिक्किम पनि यसै किरातप्रदेश अर्न्तर्गत नै पदैथ्यो होला जहाँ हाल खास गरी लेप्चा जातिको वसोवास छ
(२९, पृ. ६३-६४) । हाल आफूलाई किरात जातिको वंशज मान्ने विभिन्न जनजातिका मानिसहरु नेपालमा मात्र सीमित नरही सिक्किम, भूटान र भारतको आसाम तथा पश्चिमी बंगाल राज्यहरुमा पनि प्रशस्त संख्यामा रहेका छन् ।
किरातहरु तिव्बत-बर्मेली (हिमाली) भाषा परिवारअर्न्तर्गत पर्ने विभिन्न किरात भाषिकाहरु बोल्दछन् जसमध्ये राई, लिम्बु र लेप्चा आदि भाषाहरु पनि पर्दछन् । नेपाल अधिराज्यमा सन् १९९१ को जनगणनाअनुसार ३ लाख ५० हजार ७८० व्यक्तिले किरात भाषालाई आफ्नो मातृभाषा घोषित गरेका छन् जो देशको जनसंख्याको १.९ प्रतिशत हुन आउँछ ।नेपालमा राई (२११३५३) र लिम्बु (१२९२३४) भाषाभाषीहरुको नै बाहुल्यता रहेको छ (३१, पृ. ५५-५६) । सन् २००१ को हगगणनानुसार
चाहिं यस संख्यामा बृद्धि भएको देखिन्छ (राई ३७१५६ अर्ञात् जनसंख्याको १.४७
प्रतिशत र लिम्बू ३३३५३३ अर्थात् जनसंख्याको १.४७ प्रतिशत) । भारतमा पनि यी दुवै जातिका प्रतिनिधिहरुको बाहुल्यता रहेको पाइन्छ । अनि नेपालमा अल्पसंख्यक रहेका लेप्चाहरूको भाषालाई कतिपय विद्वानहरुले तिव्बत-हिमाली भाषा परिवारअन्तर्गत राखेका छन् । जे जसो भए तापनि किरात जातिकै विभिन्न समूहहरु एक-आपसमा एउटै भाषामा कुरा गर्न सक्तैनन् र एक दोस्राको भाषा बुझ्दैनन् । जर्मन भाषाविद् डा. हान्सन तथा प्रो. भिन्टेरले पूर्वी नेपालमा बसोवास गरिरहेका राई जातिमा नै २८ विभिन्न उपभाषाहरु रहेको कुरा जनाएका छन्, यद्यपि अन्य उपभाषाहरुभन्दा वान्तावा भाषा बढी व्यापक रुपमा फैलिएको छ ।
,,राई जातिअर्न्तर्गत पर्ने विभिन्न समूहहरु, जस्तै वान्तावा, थुलुंग, चामलिंग, खालिंग, कुलुंग, सांगपांग आदि, विशेष भाषाको उपयोग गर्दछन् । तसर्थ कसैले थुलुंग
भाषा बोल्यो भने वान्तावा जातका राईहरु उसको कुरा बुझ्न सक्तैनन् । यसै गरी खालांग भाषा चामलिंग जातका राईहरुको निम्ति बोधगम्य हुँदैन, किनभने यी भाषाहरुको बीचमा उपभाषागत मात्र नभई विशेष मौलिक
विभेद रहेको पाइन्छ,, (२३, पृ. २०२) ।
नेपाल, भारत, सिक्किम तथा भूटानसम्म फैलिएर बसोवास गरिरहेका किरात जातिका विभिन्न शाखाहरुमा भाषिक, सांस्कृतिक, सामाजिक आदि विभिन्न क्षेत्रमा केही न केही अन्तर पाइने भए तापनि तिनको मूल जरो पहिल्याउने र अनेकतामा एकताको खोजी गर्ने यस पंक्तिकारको लक्ष्य रहेको छ । एकातिर चीन-तिव्बत र अर्कोतिर भारतको बीचमा हिमालयको काखमा अवस्थित नेपालमा प्राचीन कालदेखि आफ्नो अस्तित्व कायम राख्दै आएका किरात जातिको परम्परा र वर्तमानबारे पनि विवेचना गर्दै यस जातिको सभ्यता र संस्कृतिको मूल
पहिल्याउने यहाँ किञ्चित् प्रयास गरिनेछ ।
किरात जनजातिहरु
किरात या किराँत भन्ने जातिनाम मंगोल बान्कीका अति प्राचीन जातिको सामूहिक नाम हो । प्राचीन संस्कृत ग्रन्थहरुमा पनि किरात जातिको उल्लेख पाइन्छ । नेपाली विद्वान् धूस्वाँ सायमीको कथनानुसार “केही विद्वानहरुले सिन्धु नदीउपत्यकाको प्राचीन सभ्यता किरात सभ्यता नै थियो” भन्ने राय प्रकट गरेका छन् । ऋग्वेद जस्तो प्राचीनतम ग्रन्थमा समेत आर्यजाति र किरात जातिको बीचमा संग्रामको वर्णन पाइन्छ । भारतको आर्यीकरणको समयमा निसन्देह नै किरातहरु अनार्य मानिएका थिए । यदि यजुर्वेद जस्तो प्राचीन ग्रन्थमा परशुमेध यज्ञको सन्दर्भमा किरातहरुको नाम लिइएको छ भने अथर्ववेदमा चाहिं किरात युवतीको चर्चा गरिएको पाइन्छ (५४, पृ. १३७) । यजुर्वेदमा ,,गूहव्य किरात,, को उल्लेख गरिएको छ । यसको अर्थ हुन्छ : “गुफामा बस्ने जाति” । पुड्को कद, फराकिलो चेहरा, थेप्चो नाक र चिम्से काला आँखा आदि यस जातिको चारित्रिक रुपरेखाको वर्णनबाट पनि किरात जातिकै मानिसहरुको
भेषभूषाको
चित्रण गरिएको हो भन्ने स्पष्ट हुन जान्छ ।
यसै गरी “महाभारत” महाकाव्यमा किरात जातिलाई आर्यावर्त (भारतवर्ष) को उत्तरमा बस्ने वासिन्दाको रुपमा वर्णन गरिएको छ भने कालीदासकृत महाकाव्य “कुमारसम्भव” मा
चाहिं किरात जाति गंगापारी हिमालयको घाँचमा बस्ने वासिन्दाको रुपमा चित्रण गरिएको छ ।महाभारत “सभापर्व” मा
,,पूर्वी प्रदेशमा भीमको अभियानको चर्चाको क्रममा विदेहउपर विजय प्राप्त गरेपछि किरातहरुको देशमा पुगेर सातजना किरात शासकहरुउपर विजय हासिल गरेको,, (५४, पृ. १३७) वर्णन छ ।
नेपाली विद्वान् प्रयागराज शर्माको मतानुसार किरात शव्द ,,प्राचीन ग्रन्थहरुमा व्यापक अर्थमा उपयोग गरिएको छ र यसअर्न्तर्गत मंगोल बान्कीका सबै जनजातिहरु समाविष्ट गरिएका थिए । यस प्रकार ती सवै जनजातिहरुलाई किरात भन्ने एउटै सगोल नाउँ दिइएको हुनु सम्भव छ,, (५५, पृ. ६८) । अर्का नेपाली विद्वान् सोमध्वज बिष्टको राय पनि यस्तै छ । उनले
लेप्चा, मेचे, कोचे, धिमाल आदिको त कुरै नगरौं, तामांग, मगर, गुरुंग, थारु र अझ शेर्पालाई समेत किरात जातिअर्न्तर्गत पारेका छन् । उनले ,,ङ्,, (सुरक्षित स्थल), ,,चो,, ,,चे,, अथवा ,,जे,, (अग्लो ठाउँ), ,,गुँ,,
(पहाडी जंगल), ,,ला,, (भञ्ज्यांग) आदि प्रत्ययान्त स्थाननामहरुको विवेचना गर्दै के निष्कर्ष निकालेका छन् भने ,,प्राचीन कालमा किरातहरु नेपालका पूर्व, पश्चिम र तराईका व्यापक इलाकाहरुमा फैलिएका थिए,, (४५, पृ. ७१) । उनीहरुले यी स्थानहरुको नाउँमा यसको चिन्ह छाडेका छन् । तसर्थ हिमालय पर्वतको सम्पूर्ण घाँचलाई किरात जातिको थलो (निवास क्षेत्र) मान्न सकिन्छ । ,,अपेक्षतया केही समयअघिसम्म पनि किरातहरु आर्यजातिको प्रभावक्षेत्रबाट बाहिरै रहेका थिए र उनीहरु आर्येतर जाति रहिआएका थिए,, (५५, पृ. ६७) । प्रसिद्ध नेपाली इतिहासविद् डिल्लीरमण रेग्मीले लेखेका छन् : ,,कुन तथ्यको पनि चर्चा गर्नु आवश्यक छ भने मनुस्मृतिअनुसार किरातहरु पनि लिच्छविहरुकै स्थिति र स्तरमा रहेका छन् । यसबाट त्यस वेला किरातहरुको सामाजिक स्तर उच्च रहेको पुष्टि हुन्छ,, (५३, पृ. २) । यसै “मनुस्मृति” (अध्याय १०, श्लोक ४४) मा भारतवर्ष र त्यसको आसपासका जाति र जनसमूहहरुको उल्लेख गरिएको छ । अंशतः त्यसमा “...चीन, किरात, दरद: (३८, पृ. २१९) आदि जातिहरुको नाम परेको छ ।
किरात भन्ने जातिनामको व्याख्या विभिन्न किसिमबाट गरिन्छ । यो जातिवाचक शव्द कान्कटी (कुशद्वीपकी सुन्दरी), कालात (हिमालयको दक्षिणी पाखो), किर्यात (किल्लाहरुको देश),
चिरायत (वनस्पति), किरेत (रेशम) आदि शव्दहरुबाट व्युत्पन्न भएको व्याख्या पाइन्छ । यसैउसले यस शव्दको व्युत्पत्ति विभिन्न प्रकारले गर्न सकिन्छ । व्याख्याको विभिन्नताअनुरुप अर्थमा पनि अनेकता पाइनु स्वाभाविकै हो । तसर्थ किरातको अर्थ कसैले कान्काटीका वंशज भन्ने लगाएका छन् भने कसैले चाहिं कालातका वासिन्दा, किल्लाहरुको देशका मान्छे, चिराइतो व्यापारी, रेशम व्यापारी आदि अर्थ बताएका छन् । तर उपरोक्त कुनै अर्थको आधारमा पनि
हामी ,,किरातहरुको प्राचीन
उत्पत्तिको
पुष्टि गर्न समर्थ हुँदैनौं,, (५४, पृ. १३७) । केही हदसम्म किल्लाहरुको देशको मान्छे अथवा रेशम व्यापारी या चिराइतो व्यापारी भन्ने अर्थ सठीक प्रतीत हुन्छ । कौटिल्यीय “अर्थशास्त्र” मा पहाडी भेकमा उम्रने र दक्षिणका इलाकाहरुमा निर्यात गरिने चिराइतोलाई किराततिक्त भन्ने संज्ञा दिइएको पनि विचारणीय छ (३५, पृ. १००) ।
नेपाली विद्वान् इमानसिंह चेमजोंगको मतानुसार नेपालका किरात जातिअर्न्तर्गत ,,तीन वंशहरु समाविष्ट छन्,, । तीमध्ये “खाम्बोंगबा (खाम्बो) सर्वप्रथम हिमालय क्षेत्रमा फैलिए, त्यसपछि तांगसांगथा (मंगोल) र मुनाफेन (चिनियाँ) वंशका मानिसहरु त्यहाँ आइपुगे र खाम्बोसित मिसिन पुगे...” (४८, पृ. ४) । यस प्रकार व्यापक अर्थमा नेपाल, भारत, बर्मा, श्याम (थाइल्याण्ड), भियतनाम, मलाया र फिलिपिन्ससम्म फैलिएका सबै आर्येत्तर जनजातिका प्रतिनिधिहरुलाई किरात जातिअन्तर्गत लिन सकिन्छ । तर संकुचित अर्थमा हाल मुख्यतया पूर्वी नेपालमा बसोवास गरिरहेका राई (खम्बु), लिम्बुका साथै मुख्यतः सिक्किममा बसोवास गरिरहेका लेप्चा जनजातिहरुलाई किरात मान्नुपर्दछ ।
यहाँ लेप्चा जनजातिको बारेमा केही विस्तृत रुपले चर्चा गर्नु जरुरी छ । यो जनजाति आखेटको निम्ति प्रख्यात छ । उनीहरु धनुवाणको सहायताले वनमा शिकार गर्दछन् र यस्तो आयुध खूब मेहनत गरेर बनाउँछन् । कुन जन्तुको शिकार गर्ने हो त्यसैअनुरुप चार किसिमका धनुषहरुको प्रयोग गरिन्छ (३७, पृ. ५१०) । भूटानमा अधिकांश लेप्चाहरु खेतीपाती र शिकारमा संलग्न रहेका छन् । उनीहरु विषाक्त चुच्चो भएको वाणको प्रयोग गर्दछन् (३७, पृ. ५१४) । तर एक शताव्दी पहिलेसम्म जीवनयापनको मुख्य साधन मानिने आखेट प्रथा हाल बिलाउँदै गएको छ र लेप्चाहरु अब खेतीपाती र पशुपालनतर्फ आकषिर्त हुन थालेका छन् ।
माथि उल्लिखित जनजातिहरुको अतिरिक्त सुनुवार, जिरेल, याख्या आदि अन्य केही जनजातिहरु पनि किरात जातिअन्तर्गत नै पर्दछन् । याख्या वा थामी जस्ता कतिपय अल्पसंख्यक जनजातिहरु अन्य बहुसंख्यक किरात जनजातिभित्र गाभिइसकेका छन् । हुन त किरात भन्ने जातिनाम मुख्यतः राई जनजातिको सूचक बन्न पुगेको छ र लिम्बूहरु आफ्नो स्तर राईको भन्दा उत्कृष्ट ठान्दछन् तर यी सवै जनजातिहरु कालान्तरमा विभिन्न ऐतिहासिक तथा सामाजिक कारणवश विभिन्न मूलका समूहहरुसंग घुलमिल हुन पुगेको भए तापनि वस्तुतः एउटै मूलका हुन् भन्ने कुरामा कुनै संदेह छैन । यी सबै जनजातिहरु एउटै नृवंशभित्र पर्दछन् र उनीहरुबाट पश्चिमतर्फ बस्ने तामांग, उत्तरमा बस्ने तिव्बती (भोटे), र निश्चय पनि दक्षिणतिर तर्राईमा बस्ने अन्य मंगोल बान्कीकै आफ्ना छिमेकी जनजातिहरुबाट समेत भिन्न छन् । हुन त कतिपय किराती किम्बदन्तीहरुमा प्राचीन कालदेखि नै समथर तराई प्रदेशमा बसोवास गरिरहेका मेचे, कोचे (राजवंशी) र थारु जनजातिसंग किरात जातिको वंशगत एकत्वबारे उल्लेख गरिएको पाइन्छ (१०, पृ. ४२) । थारुहरुले त
,,तर्राईका लिम्बु,, भन्ने विशेषण समेत पाएका छन् । मेची नदीको किनारातिर बस्ने मेचे जनजातिका मानिसहरु पनि आफूलाई किरात जातिकै मान्दछन् र आफूलाई पनि आफ्ना बन्धुवान्धव लिम्बु र खम्बुझै रेशमको व्यापार गर्दै चीनबाट बसाइँ सरेर आएको ठान्दछन् । उनीहरुको धारणाअनुसार लिम्बु र खम्बुहरु पहाडतिरै बसे तर मेचेहरु भने न्यानो र उर्वर ठाउँको खोजी गर्दै पहाडबाट समथर इलाकातर्फ झरे (३१, पृ. १९) ।
नेपालका मोरंग तथा झापा जिल्लाहरुमा बसोवास गरिरहेका धिमाल जाति पनि किरात जातिकै एउटा शाखा मानिएको छ र तिनलाई ,,मधेशका किरात,, भन्ने गरिन्छ । धिमाल जनजातिका अधिकांश किम्बदन्तीहरुमा मात्र होइन कि उनीहरुको वाह्याकृति र भाषामा समेत किरात जातिसंग निकै सामञ्जस्यता रहेको पाइन्छ (१६, पृ. ४) ।
अधिकांश विद्वानहरुको धारणाअनुसार पूर्वी नेपालमा वसोवास गरिरहेका सुनुवार तथा जिरेल जनजातिहरु पनि किरात जातिअन्तर्गत नै पर्दछन् । काठमाडौं उपत्यकाबाट पश्चिमतिर बस्ने मगर जातिसंग नृवंशात्मक रुपमा किरातहरुको बढी साम्यता पाइन्छ । परन्तु केही विद्वानहरु तिनलाई पूर्वी तराईमा पर्ने सिमरौनगढबाट बसाइँ सरेर आएका ठान्दछन् । ज्ञातव्य के पनि छ भने किरात वंशावलीमा पनि किरात जातिका पूर्वपुरुषहरु सिमरौनगढ हुँदै भादगाउँका राजाबाट पूर्वी पहाडमा बस्ने अनुमति प्राप्त गरेर कोशी क्षेत्रमा फैलिएका मानिन्छन् (जिरेल, १९९२, पृ. १५) । नेपाली नृवंशवेत्ता डोरबहादुर विष्टको अध्ययनअनुसार सुनुवार भाषा मगर भाषाको ज्यादै निकट छ भने जिरेल भाषा चाहिं शेर्पा भाषासंग निकै मिल्दछ, यद्यपि तिनको वाह्य रुप चाहिं मगरहरुसंग बढी मिल्दछ । किम्बदन्ती अनुसार जिरेलहरु पनि शेर्पा जातिसंग मिसिन पुगेका सुनुवारकै वंशज ठानिन्छन् । यसैउसले सुनुवारहरु जिरेलहरुलाई आफ्नो स्तरभन्दा तलको ठान्दछन् भने जिरेलहरु चाहिं आफूलाई सुनुवारकै स्तरको मान्दछन् । जिरेल विद्वानले सुनुवार र जिरेलका आदिपुरुषलाई किरात वंशावलीको आधारमा दाजुभाइ बताएका छन्, यद्यपि किरात वंशावलीमा उल्लिखित तथ्यहरु प्रामाणिक मान्न गाह्रै पर्दछ । जे जसो भए तापनि जिरेलहरुमा हाल बौद्ध धर्माबलम्बी शेर्पा जातिकै सामाजिक तथा सांस्कृतिक प्रभाव बढी पाइन्छ, यद्यपि ब्राह्मण पुरोहितबाट पनि पूजापाठ गराउने गरिन्छ । सुनुवारहरु चाहिं मगर जातिझै हिन्दू धर्मबाट बढी प्रभावित छन् । भोजपुरका केही गाउँहरुमा कुलुंग जनजातिको बसोवास छ जो आफूलाई किरात बताउँछन् तर उनीहरुको रीतिथिति किरातहरुको भन्दा भिन्न छ (२१, खण्ड १, पृ. ६२३) ।
किरात जातिको बसोवासको क्षेत्रनजिकै रहेका अन्य जनजातिहरुको बारेमा पनि दुइ शव्द भन्नु आवश्यक हुन्छ । किरात प्रदेशअन्तर्गत रहेको भूभागमा बस्ने शेर्पा जाति तिव्बती मूलका हुन् र बौर्द्धधर्मको लामापन्थका अनुयायी मानिन्छन् । त्यस क्षेत्रको पश्चिमतिर बस्ने तामांगहरु पनि लामाधर्मकै अनुयायी हुन् र कसै-कसैले तिनलाई पनि तिव्बती मूलकै बताउने गरेका छन् । तर यसै जातिका विब्ान् सन्तवीर लामा (पाख्रिन) चाहिं तामांगहरुलाई नेपालकै आदिवासी मान्दछन् र उनको कथनानुसार यस जातिको मूल थलो उत्तरमा योल्मा (योलम्बु वा हेलम्बु) तथा दक्षिणमा मधेशको माझमा अवस्थित
सैलुंग भनिने सय डाँडाको सुन्दर प्रदेश हो । त्यसभन्दा अझ पश्चिमतिर बसोवास गर्ने नेवार जातिलगायत
गुरुंग र मगर जातिमा पनि किरात जातिको अवशेष भेट्टाउन सकिन्छ । यस परिप्रेक्ष्यमा मगर जातिको नाम लिन सकिन्छ जसको
निकटतम सम्बन्ध वाह्याकृति तथा भाषागत साम्यताको आधारमा किरात जातिसंग रहेको अनुमान हुन्छ, यद्यपि लामो समयसम्म यस जातिसित खश जातिको सम्पर्क रहिआएको छ ।
हुन त ,,मगरहरु ठकुरीहरुसंग आफ्नो आनुवंशिक निकटतामा विश्वास राख्तछन्,, (४४, पृ. ५७) । अनि दक्षिण-पूर्वी तराईमा बस्ने सतार जातिमा हिन्दू धर्मको ठूलो
प्रभाव परेको छ, यद्यपि यो जाति पनि किरात जातिकै निकटवर्ती प्रतीत हुन्छ । तराई क्षेत्रका थारु जातिलाई त किरातहरुले ,,तराईका लिम्बु,, भनी आफन्त स्वीकारेका छन् भने स्वयं थारु जातिका विद्वानहरु आफूलाई किरात जातिकै एक हाँगा मान्दछन्, यद्यपि उनीहरुले ,,हिन्दू संस्कृतिलाई एकदमै अपनाइसकेका छन्,,
(५३, पृ. ४) ।
अधिकांश नेपाली विद्वानहरु हिमाली (तिव्बत-बर्मेली) भाषापरिवारका सबैजसो जनजातिहरुलाई प्राचीन किरात जातिकै शाखासन्तान मान्ने पक्ष्यमा रहेका छन् । उदाहरणार्थ, नेपाली अनुसंधानकर्ता सोमध्वज विष्टले नेपालका स्थाननामहरुको विश्लेषणको आधारमा के निष्कर्ष निकालेका छन् भने नेवार जाति मात्र नभई तामांग, गुरुंग र मगर पनि उत्पत्तिको दृष्टिले किरात जातिअन्तर्गत पर्दछन् (४५, पृ. ७१, ७७, ७९) ।
No comments:
Post a Comment