किरात येले (यलम्) संवतको औचित्य
(कार्यपत्र)
प्रस्तुत कर्ताः प्रा.डा. जगदीशचन्द्र
रेग्मी
१.
परिचय: नेपालको
पूर्वतर्फको भूभागलाई किरात देशको रूपमा मान्ने परम्परा निकै पुरानो देखिन्छ। त्यस
देशका विभिन्न भूभागमा बसोबास गरिरहेका प्रसिद्ध ४ जातिहरू राई, लिम्बू, सुनुवार
र याक्खाले आफूलाई किरातवंशी हुनाको स्वामित्व गर्ने गरेको पाइन्छ । उक्त ४ किरात जातिहरूको समष्टि
जनसङ्ख्या १२–१३ लाखले वर्तमान नेपालमा किरात संस्कृति र
सम्पदाको बिजै धानेको मानिन्छ ।
उक्त ४ किरात जातिहरूले नेपालको ऐतिहासिक कालका किरात राजवंशसित जातीय र भावनात्मक
सम्बन्ध गाँसेको पाइन्छ
।
त्यसै क्रममा किरात येले संवत सम्बन्धी अभियानको उठान र विकास भएको छ ।
२.
आरम्भ: उपरोक्त
पृष्ठभूमिमा चार दशक जति अघिदेखि नेपालको ऐतिहासिक कालको शासक राजवंश किरातका
पहिला राजा यलमको नामसित सम्बन्ध गरेर यौटा संवतको परिकल्पना गरेर भित्तेपात्रोको
प्रकाशन गरी व्यापक प्रचार हुँदै आउँदा उक्त संवत सम्बन्धी धारणाले यौटा
सिद्धान्तको रूप लिएको पाइन्छ । त्यही धारणालाई इतिहास सङ्गत पारेर त्यसको अभ्यास
समुदायबाट गर्नु गराउन र संवैधानिक मान्यता पाउने उपक्रममा सबैको सहयोगको अपेक्षा
पनि राखिएको छ ।
३.
सन्दर्भ: किरात
येले संवतको परिकल्पना र भावुकावस्थाका ४ दशक जातिको कालक्रममा कैयौं बौद्धिक
शक्तिहरू छरिएर अन्यौलको अवस्था रहेकोमा २०६५ माघ १८ गतेको दिन 'नवसमन्वय' पत्रिकाको
संयोजनमा भएको गोष्ठीमा सर्वप्रथम इतिहाससङ्गत दृष्टिले त्यसको मूल्याङ्कन गर्ने
काम शुरु भएको थियो।
उपरोक्त
घटनापछि उपरोक्त किरात–येले संवतबारेमा विभिन्न गोष्ठी, अन्तरर्किया
र अन्तर्राष्ट्रिय गोष्ठी समेत सम्पन्न भएको थियो । यस्ता गतिविधिहरूबाट किरात–येले
संवतबारे जन अभिरुचि बढ्नासाथै त्यसको वास्तविक स्वरूप पत्तालाउने काममा आइपर्ने
सम्स्याहरूबारे यथार्थ ज्ञान पनि हुन आएको उपलब्धी देखिएको छ ।
पुननपुग
४ वर्ष (२०६५ माघ १८ गतेदेखि २०६८ मङ्सीर गतेसम्म) भित्र किरात येले संवत्
सम्बन्धमा भएका समस्त सक्रिय गतिविधिमा प्रत्यक्ष–परोक्ष रूपले सेवा–सहयोग
पुर्याउने सबै व्यक्तित्वहरू असीम धन्यवादका पात्र हुनुहुन्छ।
४.
ऐतिहासिकता: एशिया
महाद्धीपभित्रको संस्कृति, सभ्यता र जातितत्वको परिप्रेक्ष्यमा
विशाल लम्बायमान हिम श्रृङ्खलाले उत्तरतर्फ छेकबार लाएको भए पनि उत्तरी एशिया र
दक्षिणी एशियाको सङ्गमस्थल नेपाल भूमि मात्र हैन स्वयम् भारतवर्ष पनि आर्य र आर्य–इतर
जातिहरूको इतिहासले बताएको छ। यस्तै पृष्ठभूमिमा नेपालमा पनि एतिहासिक कालमा आर्य
जातिकाले मात्र हैन आर्य–इतर किरात वंशका नेताहरूले पनि
राज्यशासन सञ्चालन गरेको तथ्य गोपालराजवंशावलिले सुरक्षित गरेको छ। यस विषयमा यस
पङ्तिकारकै पूर्व कार्यपत्रमा चर्चा गरिसकिएको कुरा स्मरण गराउँछु । यहाँ सारांशमा
भन्नुपर्दा उक्त स्रोतमा ३२ जना किरात राजाहरूले जम्मा १९६४ वर्ष शासन गरेको थाहा
पाइने र त्यसलाई इतिहासक्रममा जोड्दा इस्वीपूर्व १७७९ मा किरात वंशका पहिला राजा
यलमले सोही गणनाअनुसार हाल ई.२०११ मा सो घटना ३७९० वर्ष पहिले भएको मान्नु पर्ने
हुन आउँछ । नेपालमा किरात शासनको स्थापना गर्ने यलमको सम्मानमा प्रचलन गर्न
खोजिएको संवत् पनि सोहीअनुसार हुनु पर्ने सिद्ध हुन आएको छ । उपरोक्त
विश्वासअनुसार किरात–येलम् संवतको व्यवहार हुनु पर्ने
देखिएको छ।
५.
सामाजिक महत्व: करीब
४ दशक अघिदेखि 'किरात येले संवत्'का परिकल्पनाकारले यस्तो स्मारक संवतले
सम्पूर्ण किरात जातिमा जस्तो सकारात्मक प्रभाव पर्ने अनुभव गरेका थिए त्यो भन्दा
बढीनै प्रभाव लक्षित किरात जातिमा परेको देखिएको छ । थाहापाउने किरात जातिले यस
संवतलाई ज्यादै आत्मीय श्रद्धासाथ स्वीकार गरेर स्वाभिमानको अनुभव गर्ने गरेको
देखिएको छ । नेपालवासी चार किरात जातिहरू राई, लिम्बू, याक्खा र सुनुवारले यस संवतलाई
कैाटुम्बिक एकताको प्रतीकको रूपमा सहर्ष स्वीकार गर्ने तत्परता पाइन्छ जुन ज्यादै
सकारात्मक छ, वर्तमान समयमा 'येलम् संवत्'का भित्ते पात्रोले किरात जातिका
अधिकतम सङ्ख्याका घर–घरमा ससम्मान प्रवेश पाएको अवस्था
रहेको अनुमान गर्न गाह्रो छैन।
६.
सांस्कृतिक महत्व: जीवन
निर्वाह र सामाजिक व्यवहार चलाउन कालगणना पद्धति आवश्यक हुन्छ र त्यस्तो पद्धति
प्रयोगकर्ता समुदायको सांस्कृतिक र धार्मिक आस्थाको अनुकूल पनि भएमा त्यसको
सांस्कृतिक महत्व पनि त्यत्तिकै हुने हुन्छ।
किरात
जातिका ४ मुख्य अवयव राई, लिक्बू, याक्खा र सुनुवारहरू संस्कृतिका ज्यादै
धनी रहेका र यलम् संवतको साझा प्रयोगले तिनका सांस्कृतिक जागरण ल्याउन मद्दत
पुग्ने विश्वास गर्न सकिन्छ, आजको नेपाललाई राजनीतिकसाथै सांस्कृतिक
जागरण पनि आवश्यक भएको कुरा प्रधाजमन्त्री डा. बाबुराम भट्टराई भन्दै आउनु भएको छ
र यसैले पनि यलम् संवतको साझा प्रयोगद्वारा सांस्कृतिक जागरण हुन सक्ने सम्भावनाको
प्राक् कल्पना गर्न सकिन्छ । यस उपक्रमले नेपालका अन्य जात–जातिहरूलाई
पनि प्रेरणा प्रदान गर्ने प्राक–कल्पना गर्न सकिन्छ।
७.
हाल तुरुन्त गर्नुपर्ने काम: विगत ४ दशकदेखि 'किरात–येले संवत्'अनुसारको पात्रो छाप्दै आइरहेकोमा
अहिले त त्यसले व्यापकता आइसकेको अवस्थामा सम्बन्धित व्यक्ति वा संस्थाहरूबाट त्यो
काम अब पनि काममै रहनेछ तर उहाँहरूलाई पहिले सोचिएको कालगणना भन्दा इतिहास सङ्गत
कालगणना यथार्थ हुनाले सोही बमोजिम पात्रो तयार पार्नु हुन विनम्र अनुरोध गर्नुमा
हतार परिसकेको छ किन भने यो मङ्सीर महिनामा पात्रोसम्बन्धी खेस्रा काम सिध्याएर
पौष मसान्त चैत्र मसान्तसम्ममा छापिसकिएर उपभोक्ताहरूमाझ पुगिसक्नु पर्ने हुन्छ ।
किरात–यलम्
संवतलाई संविधान सभा–संसदबाट समर्थन गराउने तथा आगामी
संविधान भित्र सूचीकृत गराउन पनि सक्रियता आवश्यक देखिएको कुरा निवेदन गर्न
चाहन्छु ।
परिशिष्ट
सन्दर्भ
सूची
१. काइँला
वैरागी, “किराती संवत्देखि येले संवत्सम्म तान्छोप्वा...
... ...
२. खम्बू
बलिराज, राई गणेश, तुम्याहाङ अमर,
राई
शङ्कर साम्पाङ, (सं.), किरात येले संवत् अभिलेख, किरात
येले संवत् अध्यापन समन्वय समिति, काठमाडौं, सन् २०१०।
३. रेग्मी, प्रा.डा.
जगदीश चन्द्र रेग्मी, “नेपाली किरात जातिको गौरवपूर्ण
इतिहासको परिप्रेक्ष्यमा किरात येले संवत्को प्रचलन तथा संवैधानिक मान्यताको
उपक्रम, किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार
गोष्ठी, कार्तिक २८–२९ गते २०६६मा प्रस्तुत कार्यपत्र।
No comments:
Post a Comment