जीवनचक्रको रीतिथिति
पारिवारिक जीवनका विभिन्न घटनाहरुसित सम्बन्धित कैयौं रीतिथितिहरु किरात जातिमा प्रचलित छन् र ती आफ्नै किसिमले मौलिक पनि छन् । यस्ता रीतिरिवाजहरु पुरोहितहरुले सम्पन्न गर्दछन् ।
लिम्बुहरु छोरो जन्मेको चौथो दिनमा (छोरीको हकमा तेस्रो दिनमा) ठूलो भोजको आयोजना गर्दछन् । त्यसमा सबै नातेदारहरु र पुरोहितलाई पनि निम्त्याइन्छ । त्यसपछि बच्चालाई आमाको दूधबाट छुटाउने संस्कार सम्पन्न गरिन्छ । बच्चाको जीवनमा महत्वपूर्ण यस संस्कारको समयमा बच्चालाई सानोतिनो उपहार दिने चलन छ (३७, पृ. ८१४) ।
लेप्चाहरुको विवाह संस्कार विभिन्न चरणहरुमा सम्पन्न गरिन्छ । सबभन्दा पहिले दुलहाले रोजिएकी कन्याकेटीलाई उपहार (कुखुराको भाले, चामल, जाँड) पठाउँछ । त्यसपछि पूर्वनिश्चित दिनमा मामा र काकाले दुलहालाई दुलहीको घरमा लिएर जान्छन् र विभिन्न रीतहरु पूरा गर्दछन् । त्यसको तीन दिनपछि दुलहालाई कन्याकेटीको पतिको रुपमा मान्यता प्रदान गरिन्छ र ऊ आफ्नो घरमा फर्कन्छ । तर उसकी पत्नी भने माइतमा नै रहन्छे । तीन वर्षछि अर्को एउटा रीत पनि पुर्याउनुपर्दछ । त्यसपछि मात्र पत्नीले आफ्नो पतिको घरमा जाने सम्भावना पाउँछे । नयाँ दुलहीको गृहप्रवेशको समयमा पनि विभिन्न रीतहरु पूरा गरिन्छन् । यस घटनाको एक वर्षछि मात्र मूल्यवान् उपहारहरु दिएर विवाहको अन्तिम रीत पूरा गरिन्छ (३७, पृ. ५११) ।
लिम्बुहरुको विवाहसंस्कार फेदांगमा अर्थात् पुरोहितले सम्पन्न गर्दछ । उसले ,,विवाहको संस्कार सम्पन्न गर्न थाल्दा प्रार्थना गुनगुनाउँछ र कुखुराको भालेलाई त्यसको रगत केराको पातमा पर्ने किसिमबाट रेट्छ । उसले रातभरि पवित्र “मुन्धुम” को पाठ गर्दछ । दुलहा र दुलही दुवैजनाले घरको एक कुनामा शान्तिपर्ूवक बसेर पुरोहितको कथावाचन सुन्नर्ुपर्दछ । यस्तो समयमा उनीहरुले निदाउनु हुँदैन, किनभने यो ठूलो अपसकुन मानिन्छ । पाहुनाहरु सबै जोड जोडले गीत गाउनमा र नाच्नमा मस्त रहेका हुन्छन् । यसरी उनीहरु पवित्र विवाह अनुष्ठानको समयमा दुलहा र दुलहीलाई जागा गराइ राख्ने प्रयास गर्दछन्,, (४४, पृ. ४४) ।
किरातहरुका अन्य जातिहरुमा जस्तै लिम्बुहरुमा पनि फेदांगमाले नवदम्पत्तिको विवाहअभिषेक सम्पन्न गर्दैमा विवाहसंस्कार पूरा भएको मानिंदैन । यो त विवाहको पहिलो चरण मात्र हो । दुलहाले दुलहीका आमाबाबुलाई र उसको कुललाई कन्याकेटी दिएको बदलामा निश्चित रकम तिरेपछि मात्र वास्तवमा विवाहको रीत पूरा हुन्छ । त्यसपछि मात्र विवाहबन्धन अन्तिम रुपमा र अपरिवर्तनीय ढंगबाट जोडिन्छ । यो दुइ कुलघरको बीचमा नातासम्बन्धको द्योतक हुन्छ । दुलहा र दुलही एउटै कुलका सन्तति हुनु ठूलो अपराध मानिन्छ र कथंकदाचित् यस्तो हुन गयो भने या त नवदम्पत्तिलाई समाजबाट बहिष्कार गरिन्छ, या त पापमोचन र शुद्धीकरणको रीत पुर्याउन बिजुवालाई निम्त्याइन्छ । स्वेच्छा या करकाप जुनसुकै तरीकाले विवाह सम्पन्न गरिएको भए तापनि पारपाचुके सम्भव हुन्छ ।
सुनुवार र जिरेलहरुमा Cross-cousin तरीकाको विवाह वर्जित छ, यद्यपि साली (पत्नीकी बहिनी) अथवा साला (पत्नीको भाइ) की छोरीसंग बिहेबारी चल्दछ । यसै गरी Junior Levirate तरीकाको विवाह मान्य छ अर्थात् विधुवा भाउज्यूसंग विवाह गर्न सकिन्छ ।
लिम्बु जातिमा कसैको मृत्यु भएको खण्डमा र्सवप्रथम पुरेहितलाई निम्त्याइन्छ । उसले मृतकको शरीरको जाँच गर्दछ र मृत्यु भएको पुष्टि गर्दछ । अन्तेष्ठिका दिन पुरोहितले पुरुषहरुको मद्दतले मृतकलाई उठाउँछ र वनमा वा पहाडको टाकुरामा लिएर जान्छ । त्यहाँ साझा चिहानघारीमा शवलाई दफनाइन्छ । पुरोहितले चिहानका लागि जग्गा रोज्दछ र भूमिदेवताबाट त्यो जग्गा किन्दछ । अनि मृतकको आत्माको तुष्टि र चिरशान्तिका लागि आवश्यक सबै कार्य गर्दछ । चिहानको पींधमा पुरुषको निम्ति चार पत्र र नारीको निम्ति तीन पत्र ढुंगा छापिन्छ । मृतकको शवलाई चिहानको लागि खनिएको खाल्डोमा पश्चिमतर्फ मुख फर्काएर राखिन्छ । उसको दुवै हात दुइतिर पसारिएका हुन्छन् । के पनि उल्लेखनीय छ भने भूटानको दक्षिण-पूर्वमा पर्ने दोर्खाका लिम्बु र राईहरु मृतकको मुख उसको जन्मभूमि नेपालतिर फर्काएर गाड्छन् । शव दफनाउने समयमा त्यहाँ उपस्थित रहेका सबैले एक मुठी माटो चिहानमा फाल्दछन् र त्यसपछि चिहान पुरिन्छ । त्यस ठाउँमा माथि एउटा ठूलो ढुंगो राखिन्छ र बीचमा एक टुक्रा कपडा बाँधिएको लठ्ठी गाडिन्छ । यसरी चिहान रहेको ठाउँमा चिनो राखिन्छ । चिहानमा शिलाको स्मारक पनि खडा गरिन्छ जुन पाँच फुटसम्म अग्लो र तीन फुटसम्म चाक्लो हुन्छ ।उमेरदार लिम्बुको मृत्यु भएको छ भने सात दिनसम्म सूतक बारिन्छ । केटाको निम्ति चार दिन र केटीको निम्ति तीन दिनसम्म मात्र सूतक बारे पुग्दछ । कति दिनसम्म शोक मनाउने भन्ने निर्णय पुरोहितले नै लिन्छ । मृतकको परिवार र कुलका सम्पूर्ण सदस्यहरु अशुद्ध मानिने हुँदा सूतक फुकाउन विशेष शुद्धिसंस्कार सम्पन्न गरिन्छ । मृतकको घरमा यस सन्दर्भमा ठूलो भोजको आयोजना गरिन्छ (३७, पृ. ८१४-८१५) ।
राई जातिमा ,,अप्राकृतिक तरीकाले मरेको व्यक्तिको शव कि त जलाइन्छ, कि त नदीमा फ्याँकिन्छ, तर सामान्य तरीकाले मर्नेको शव चाहिं ससम्मान चिहानमा गाडिन्छ । मलामी गएर फर्कंदा काजकृयामा बस्ने निकटतम नातेदारहरु कुनै पवित्र नदी या जलको मुहाननेर शिखा मात्र बाँकी राखेर मुडुलै हुने गरी कपाल खौरन्छन् । पाँच दिनसम्म उनीहरु एकाकी जीवन बिताउँछन्, परायाहरुसंग कुरा समेत गर्दैनन्, नून र मरमसाला नहालेको अनिलो शाकाहारी खाना खान्छन् । छैटौं दिन सूतक परेको घरमा नजीकका मात्र नभई टाढाको नाता पर्ने समेत सबै मानिसहरु भेला हुन्छन् । बायाँ हातको माझी औंलाले नून, वनस्पति तेल र कुखुराको फूल मिसाएर बनाइएको अलिकति लेदो लिएर बायाँ गोडामा घस्तछन् । यसरी निकटतम नातेदारको मृत्युबाट हुन गएको अशुद्धि शुद्ध गर्दछन् । आमाको मृत्युमा एक वर्षसम्म तर बाबुको मृत्युमा र अन्य नातेदारहरुको मृत्युमा भने ६ महीना मात्र बर्खी बारिन्छ । अन्य निकटतम नातेदारहरुको मृत्युमा पनि ६ महीना मात्र सूतक बारिन्छ । यस अवधिभरि मासु खान हुँदैन । यसको साथै आमाको मृत्युको अवस्थामा दूध वर्जित हुन्छ भने बाबुको मृत्युमा चाहिं दही बर्जित हुन्छ,, (३३, पृ. ८१-८२) ।
लिम्बुहरुको धारणाअनुसार दूर्घटनामा परी मर्नेको आत्माले मृतकहरुको लोकतर्फ जाने बाटो पहिल्याउन सक्तैन र त्यो गिद्ध अथवा बाँदरको रुपमा गाउँवरिपरि भौंतारिइरहेको हुन्छ । उचित तरीकाले अन्तेष्टिसंस्कार गरिएको छैन भने पनि मृतकको आत्मा त्यसरी नै भौंतारिइरहन्छ । यस्ता दुवै थरीका मृतात्माहरु परलोकतर्फ डोर्याउने बाटो खोज्न नसकेर बिचल्लीमा परेका हुन्छन् । यस्ता मृतात्माहरुलाई नै चिलदेव र बाँदरदेवको रुपमा पूजा गरिन्छ । यस्ता मृतात्माहरुको वास रुखमा हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसै कारण मृतकहरुका नातेदारहरुले रुखहरुमा खानेकुरा चढाउने गरेका छन्,,
(४४, पृ. ४६-४७) ।
भूटानमा लेप्चाहरु मृतकहरुलाई जुन खाल्डोमा गाड्छन् ती उति गहिरा हुँदैनन् । उनीहरु चिहानलाई माथिबाट ठूलो च्याप्टो ढुंगाले छोपिदिन्छन् । अनि चिहानमा वेला वेलामा मृतात्माको निम्ति बलि समेत चढाइन्छ (३७, पृ. ५१४) ।
किरात जाति : बौद्ध कि हिन्दू ?
नेपाली विद्वान् सोमध्वज बिष्टको भनाइअनुसार ,,किरातहरु शुरुमा शिवमार्गी थिए । पछि लिच्छवि शासकहरुको पालामा मात्र बिस्तारै बुद्धधर्मको प्रभावमा आए,,
(४५, पृ. ८३) ।
वर्तमान समयमा किरातहरु आंशिक रुपमा लामाधर्म मान्दछन् भने आंशिक रुपमा हिन्दू धर्मबाट पनि प्रभावित छन् । उदाहरणार्थ, केही लिम्बुहरु बुद्धधर्मअन्तर्गतको लामाधर्म मान्दछन् भने केही चाहिं हिन्दू धर्मको तान्त्रिकपन्थका अनुयायी छन् (३७, पृ. ८१४) । उत्तरतर्फबाट लामाधर्मको प्रभाव परेको पाइन्छ भने हिन्दू धर्मले दक्षिणतर्फबाट प्रभाव पारेको छ । ल्हासागोत्र र काशीगोत्रका किरातहरु हुन त ल्हासा (तिव्बत) र काशी (भारत) सित कुनै सम्बन्ध राख्तैनन्, यद्यपि उनीहरुमा लामाधर्म र हिन्दू धर्मसित केही निकटता अवश्य छ । काशीगोत्रअन्तर्गत पर्ने किरातहरु ल्हासागोत्रका आफ्ना बन्धुवान्धवहरुप्रति केही हेय दृष्टि राख्तछन् भने ल्हासागोत्रका किरातहरु पनि काशीगोत्रको प्रतिनिधित्व गर्नेहरुलाई लिम्बु नभनी ,,ठकुरीका सन्तान,, भनेर खिज्याउँछन् (८, पृ. २३) ।
राईहरु चाहिं न हिन्दू हुन्, न त बौद्धमार्गी नै । उनीहरुको धर्ममा छिमेकी धर्महरुका कैयौं तत्वहरु समावेश छन् । लेप्चाहरु चाहिं लामाधर्म (सत्रौं शताव्दीको मध्यदेखि) अन्तर्गत प्राचीन सम्प्रदायका अनुयायी हुन् । अन्य किरात जातिको जस्तै लेप्चा जातिमा पनि खास गरी जीवात्मा र भूतप्रेतमा विश्वास जस्ता केही प्राचीन धार्मिक अवधारणाहरु सुरक्षित रहेका छन् । लेप्चाहरु देवदेवी र भूतप्रेतमा स्पष्ट भेद गर्दछन् । देवदेवीहरु मानिसलाई संरक्षण प्रदान गर्दछन् भने भूतप्रतहरुले चाहिं मानिसहरुमा रोगव्याधि फैलाउँछन् । उनीहरुलाई
सन्तुष्ट तुल्याउन पशुपक्षीको बलि समेत चढाउँछन् (३७, पृ. ५११-५१२) ।
माथि उल्लेख गरिएझैं किरात जातिको धार्मिक क्रियाकलाप र रीतिरिवाजहरु “मुन्धुम” ग्रन्थमा आधारित छ । यस पवित्र ग्रन्थलाई उनीहरु “किरात वेद” भन्दछन् । यस प्रकार के निष्कर्ष निकाल्न सकिन्छ भने किरात जातिले अद्यापि आफ्नो परम्परागत धर्म र रीतिथितिलाई सुरक्षित राख्न सकेका छन् । उनीहरुको धर्ममा नगण्य मात्रामा नै भए पनि उत्तर र दक्षिणतर्फ व्यापक स्तरमा प्रचलित धर्महरुको प्रभाव अवश्यंभावी रुपले परेको पाइन्छ ।
किरात जातिका प्रतिनिधिहरु, खास गरी लिम्बुहरु आफूलाई युम्मासाम्माङ अर्थात् युमाधर्मका अनुयायी मान्दछन् । कुरा के त भने परम्पराअनुसार किरातहरु युमासाम्माङलाई सर्वोच्च देवताको रुपमा मान्दछन् । आफ्नो धर्मलाई उनीहरुले किरात धर्म पनि भन्ने गरेका छन् । नेपालमा
सन् १९९१ मा सम्पन्न गरिएको जनगणनाअनुसार ३ लाख १८ हजार ३८९ व्यक्तिले आफूलाई किरात धर्माबलम्बी बताएका थिए । यो देशको जनसंख्याको १.७२ प्रतिशत हुन आउँछ ।सन् २००१ को जनगणनानुसार चाहिं युमाधर्म चर्थात् किरात
धर्म मान्नेहरूको संख्या बढेर ८ लाख १८ हजार १०६
पुगेको छ (४२ग, २००६, पृ. ९४) । यस धर्मले
नेपालमा हिन्दू, बौद्ध र इस्लामपछिको चौथो स्थान ग्रहण गरेको छ । यसबाहेक किरात वा युमाधर्मका अनुयायीहरु भारत तथा अन्य देशहरुमा पनि रहेका छन् ।
मुन्धुम : धार्मिक एवं न्यायिक ग्रन्थ
किरात जातिको बौद्धिक संस्कृतिको उत्तरदेनको रुपमा हामीले प्रशस्त मात्रामा किरातकालीन स्थाननाम तथा जलनामहरु प्राप्त गरेका छौं । वर्तमान नेपालको व्यापक भूभागमा अद्यापि प्रचलित स्थाननामहरुका साथै सम्भवतः किरात कालसित सम्बन्धित केही प्रस्तरमूर्तिको अतिरिक्त प्राचीन किरात जातिसित सम्बन्धित अन्य कुनै भौतिक तथा बौद्धिक दसीप्रमाणहरु हामीसम्म आइपुगेका छैनन् । परन्तु मौखिक रुपमा प्रचलित मात्र नभई पछिल्लो समयमा लीपिबद्ध गरिएका कैयन् किराती पुराकथा र किम्बदन्तीहरु हामीले पाएका छौं । यस पर्रिरेक्ष्यमा किरातहरुद्रारा वेद जत्तिकै पवित्र पुस्तकको रुपमा ग्रहण गरिएको “मुन्धुम” ग्रन्थ महत्वपूर्ण् स्रोत हो भन्नुपर्दछ ।
पुराकथा र किम्बदन्तीहरु मात्र नभई किरात समाजको नियम-कानून समेत संकलित “मुन्धुम” ग्रन्थ सम्भवतः सातौं-नवौं शताव्दीभन्दा अघि लीपिबद्ध भएको थिएन । कारण के त भने त्यस समयभन्दा पहिले किरात लीपिको अस्तित्व थिएन । नेपालमा प्राप्त “मुन्धुम” ग्रन्थका विभिन्न पाण्डुलीपिहरुमा तीन प्रकारका लीपिहरुको प्रयोग भएको पाइन्छ । तिव्बतीझैं प्राचीन देवनागरी लीपिमा आधारित यी लीपिहरुले सिरिजंगा, चन्द्रपुलिंग र रोंग भन्ने नाम पाएका छन् । सम्भबतः यी लीपिहरुको निर्माण किराती राजाहरुद्वारा गरिएको थियो र तिनैको नामबाट यी लीपिहरु पनि प्रसिद्ध हुन पुगेका छन् । किरातहरु अहिले पनि मुख्यतया सिरिजंगा लीपिको उपयोग गर्दछन् । किम्बदन्तीअनुसार सिरिजंगा (नवौं शताव्दी) नामका राजाले ज्ञानकी देवी निसाम्माङबाट यो लीपि वरदानस्वरुप प्राप्त गरेका थिए । अनि माख्रोंग वा मारोंग (सातौ शताव्दी) भन्ने राजा चाहिं रोंग लीपिका आविष्कारक थिए । यो लीपि सम्भवतः सोह्रौं शताव्दीदेखि लेप्चा जातिमा प्रचलित रहेको छ (३७, पृ. ५१०) ।
आफ्नो जातीय लीपिको प्रचलनको निम्ति मात्र नभई ज्ञानको प्रचारको निम्ति पनि किरातहरुका माझ सिरिजंगा निकै प्रसिद्ध हुन पुगेका थिए । किरात जातिका प्रथम प्रबोधक इश्वरभक्तसिं थेबे (जन्म : इ.सं. १७०४) लाई सिरिजंगाको अवतार मानिएका छन् । किरातहरु उनलाई सम्मानपूर्वक देवांसी (देवताको अंश) भन्दछन् । उनको जन्म कुथिन्टारको तेल्लाक भन्ने गाउँमा भएको थियो । तर आफ्नो प्रबोधन कार्यको लागि उनले निर्वासित हुनुपरेको थियो । अभिमानसिंह बस्नेतको सिफारिशमा तत्कालीन नेपालका महाराजाधिराज रणबहादुर शाहबाट उनलाई देशनिकाला गरिएको थियो । परन्तु सिक्किममा समेत उनले आश्रय पाउन सकेनन् । यस देशमा बुद्धधर्मको प्रचारप्रसारमा संलग्न थाछांगका तिव्बतीहरुले सिक्किमका राजा तामदिंग ग्याल्मोबाट अनुमति प्राप्त गरी रुखको फेदमा बाँधेर वाणप्रहार गरी उनको हत्या गरिदिए । यो दुःखद घटना मार्ताम र रेशी नदीको दोभानमा घटेको थियो (२२, पृ. १०-११) ।
किरात जातिको धर्मग्रन्थको रुपमा रहेको मुन्धुम ज्यादै महत्वपूर्ण् र मौलिक पनि छ । प्रसिद्ध विद्वान् वैरागी काइँलाले “तङ्सिङ मुन्धुम” मा सृष्टिवर्णन शीर्षकको भूमिकामा तीन दिन तीन रात लगाएर सम्पन्न गरिने अनुष्ठानमा गाइने आख्यानहरुको संगालोलाई नै "मुन्धुम" भनिने कुरा जनाएका छन् ।यो ग्रन्थ दुइ खण्डमा विभाजित छ : धुंगसेपमुन्धुम तथा पेसापमुन्धुम । पहिलो खण्ड नै मूलग्रन्थ मानिन्छ र मौखिक रुपमा एक पुस्ताबाट अर्को पुस्ताद्वारा ग्रहण गरिएका किम्बदन्तीहरुलाई पछि लीपिबद्ध गरिएको हुनाले बढी प्राचीन पनि छ । दोस्रो खण्ड चाहिं फेरि चार भागमा बाँडिएको छ : सोक्सोकमुन्धुम, येहांगमुन्धुम, साज्जीमुन्धुम र सापमुन्धुम । यी नामहरु सम्भवत: तिनै राजाहरूको नामबाट राखिएका हुन् जुन राजाको पालामा ती रचिएका थिए । उदाहरणार्थ, येहांगमुन्धुम किरात राजा येहांगको पालामा रचिएको थियो । किरात समाजको प्रत्येक सदस्यको जन्म, विवाह, मृत्युको सन्दर्भमा सम्पन्न गरिने संस्कारसम्बन्धी विधिविधान र नियम आदि बनाएको हुनाले राजा येहांग प्रसिद्ध हुन पुगेका थिए (३०, पृ. ८-९ ) । अर्जुनबाबु माबुहाङको मतानुसार थुङसाप (थतुरेवेद) र पेसाप (लिखित वेद) भन्ने मुन्धुमको वर्गीकरणको मौखिक र लिखित भेदका
अतिरिक्त अरु कुनै औचित्य छैन, बरु पेसाप मुन्धुम अन्तरगतका सकसक मुन्धुम (सृष्टिवर्णन), साप्मुन्धुम (इतिहास), साम्बिक (दर्शन), साप्जि (आध्यात्मिक) भन्ने विषयवस्तुगत वर्गीकरण समीचीन हुन्छ । उनले कुन कुरा जनाएका छग् भने 'सृष्टिनिर्माणको मुन्धुम (नावागेन चइत मुन्धुम) होस् वा आँखिडाही उठानको मुन्धुम (तिङदिङ नाहेन मुन्धुम) छुट्टाछुट्टै ढंगले उठाइन्छ (३० क, माबुहाङ,, कान्तिपुर, ११.०१.२००७) ।
नेपाली विद्वानहरुमध्ये सर्वप्रथम किरात जातिको इतिहास एवं संस्कृतिका ज्ञाता इमानसिंह चेम्जोंगको ध्यान मुन्धुम ग्रन्थतर्फ आकृष्ट भएको थियो । उनले यस पवित्र ग्रन्थको देवनागरी लीपिमा रुपान्तरण र नेपाली भाषामा अनुवाद गरी सन् १९६१ मा प्रकाशित गराएका थिए । विदेशी विद्वानहरुमध्ये ब्रिटिश कूटनीतिज्ञ एवं अन्वेषक एफ. हमिल्टन तथा बी. हजसन नै पहिला यूरोपीय अनुसंधानकर्ता थिए जसले किरात पाण्डुलीपिहरुको खोजी तथा अध्ययन गरेका थिए । उनीहरुको अनुसंधानको फलस्वरुप “मुन्धुम” ग्रन्थका १४ वटा पाण्डुलीपिहरु लण्डनको ब्रिटिश म्युजियममा सुरक्षित हुन पुगेका छन् ।
सम्भवतः किरात वंशका राजाहरुको पालामा प्रशासन तथा न्यायव्यवस्था पवित्र ग्रन्थ “मुन्धुम” मा नै आधारित थियो । यस अर्थमा यस ग्रन्थलाई न्यायसंहिताको रुपमा लिन सकिन्छ । नेपाली न्यायविद् तीर्थमान शाक्यको कथनअनुसार ,,हाम्रो इतिहासमा किरातकालीन न्यायव्यवस्थाबाटै संगठित न्यायप्रणालीको विकासयात्रा प्रारम्भ भएको देखिन्छ... किरातकालीन शासनव्यवस्थामा किरातहरुको ग्रन्थ ,मुन्धुम, अनुसार न्याय प्रदान गर्नेगरिएको थियो... किरातकालका कानूनी लिखत प्राप्त छैनन्, केवल केही अड्डाखानाका नामहरु मात्र त्यस वेलाका पाइन्छन्,, (२६, पृ. १) ।
तत्काली सामाजिक व्यवस्थाबारे पनि “मुन्धुम” ग्रन्थबाट केही अनुमान लगाउन सकिन्छ । उदाहरणार्थ, यस ग्रन्थमा निकटतम नातेदारहरु (बाबु र छोरी, दाजुभाइ र दिदीबहिनी, आमा र छोरा आदि) बीच विवाहमा बन्देज लगाइएको छ । जे भए तापनि किरातहरु बाबुको मृत्युपछि झट्केली आमासंग विहे गर्न सक्तथे (सन् १७६२ मा मात्र यो प्रथामा प्रतिबन्ध लगाइयो) । परन्तु सहोदर नभए पनि दाजुभाइ र दिदीबहिनीको साइनो पर्ने भएमा विवाह गर्न मनाही थियो । यसै गरी बाबुपट्टि र आमापट्टिका चार पुस्तासम्मका नातेदारहरुबीच पनि विवाह हुन सक्तैनथ्यो । यस्तो बन्देजको उलंघन गर्ने अपराधी अर्थात् ,,हाडफोरा (बाबुपट्टिको नाता अर्थात् हाडनातामा करणी गर्ने) लाई आजन्म दास बनाइन्थ्यो ।
...दुधफोरा (आमापट्टिको नजीकको नातामा करणी गर्ने) लाई गाउँबाट निकालिन्थ्यो । विवाहिता स्वास्नीलाई करणी गर्ने जारलाई साधुले जार काट्न पाउने प्रचलन थियो,, (२६, पृ. ९) । दुलहाले दुलहीका आमाबाबुलाई निश्चित रकम बुझाएर गाउँको मुखिया अर्थात् पान्तुम्यानको उपस्थितिमा विवाहसंस्कार सम्पन्न गरेपछि मात्र नवदम्पतिले सामाजिक मान्यता प्राप्त गर्दथ्यो ।
मुन्धुममा उल्लेख गरिएझैं किरातहरु निकटतम नातेदारको मृत्यु भएको खण्डमा आसौच बार्दछन् : महिलाको मृत्युमा तीन दिन त पुरुषको मृत्युमा चाहिं चार दिन । आसौच बार्दा निकटतम नातेदारहरुलाई मासु मात्र होइन कि नून, खुर्सानी र अरु मरमसाला हालेको खाना खान समेत वर्जित गरिन्छ । यो आसौचको अवधि पूरा भएपछि मृतकको घरमा सबै नातेदारहरु र इष्टमित्रहरु
भेला भएर शान्तिशुद्धिको काजक्रिया सम्पन्न गर्दछन् । अद्यापि यो चलन कायमै छ ।
त्यस समयमा चोर, डाँका, ज्यानमारा र हाडनातामा मुछिएका व्यक्तिहरु अपराधी मानिन्थे । सजाय निकै कठोर हुन्थ्यो : “आँखाको बदला आँखा, दाँतको बदला दाँत” भन्ने सिद्धान्त नै त्यस समयको दण्डविधान थियो । तसर्थ ज्यानको बदला ज्यान सजाय दिइन्थ्यो
(३०, पृ. १२) । अंशत: “मुन्धुम” मा यस्तो भनिएको छ : ,,नियाँ निसाफ भएन भने मानिस वंश पशुपक्षीहरु जस्तो भएर मासिने छन्,,
(७, पृ. ३२) । समाजमा शान्तिसुव्यवस्था कायम राख्न प्रत्येक किरात गाउँमा पान्तुम्याङ अर्थात् मुखिया छानिएको हुन्थ्यो जसले समाजका सदस्यहरुबीच उत्पन्न हुने सबै झैझगडा सुल्झाउने अधिकार पाएको थियो । विशेष रुपले जटिल मुद्दामामिलाहरुउपर गाउँका सम्मानित व्यक्तिहरुको सभामा छलफल गरेर निर्णय लिइन्थ्यो । यस्तो सभालाई पासिङपादाङ भन्दथे । यस सन्दर्भमा “मुन्धुम” मा जनाइएको छ : ,,तिमीहरु आफ्नो दाजुभाइको माझमा झगडा मुद्दा भयो भने आफ्नो गाउँको हाकिम पान्तुम्याङ कहाँ जानु । त्यो पान्तुम्याङले
निसाप गर्नेछ । त्यो कुरा गर्ने मन्त्रीले
पासिङपादाङ (सदस्य वर्ग) पंचहरु भेला पार्नु, सभा बसी कुराको बहस गरेर मात्र फैसला
तोक्नु
र तिमीहरुले साँचो नियाँ भेट्नेछौ,, (७, पृ.
३२) ।
शासकको कर्तव्यबारे पनि “मुन्धुम” मा चर्चा गरिएको छ
। समाजमा शान्तिसुव्यवस्था कायम राख्नु नै राजाको दायित्व मानिन्थ्यो ।“धर्म भएन भने राम्रो
नियाँ हुँदैन । ...नियाँ बिगार्यो भने परमात्मा रिसाउनु हुन्छ । पाप लाग्छ । उसको
आयु घटी जान्छ र मर्छ । ...नियाँ निसाफ
बिगार्यो भने जताबाट पनि आइपुग्ने उज्यालो आत्मादेवले सभासद् तथा कुरा गर्ने मन्त्रीहरुको
उपर फेरि नियाँ
गर्ने छ” (७, पृ. ३२-३३) । समाजमा
सुव्यवस्था कायम राख्दै आफ्नो कर्तव्य पूरा गर्नका लागि राजाले निश्चित् नियमको पालना गर्नु आवश्यक थियो ।तसर्थ ,,ऐन कानून
छाड्ने राजाको दशा पहाडको टाकुरामा भुत्ला बेगरको चरो बसेझैं हुन्छ,, (७, पृ. ३०-३२) भनी सचेत गराइएको छ।
माथि “मुन्धुम” ग्रन्थबाट दिइएका उद्धरणहरुबाट प्राचीन कालमा किरातहरुको
सामाजिक एवं राजनैतिक प्रणालीबारे केही हदसम्म अनुमान लगाउन सकिन्छ । अहिलेसम्म पनि
किरातहरु यस पवित्र ग्रन्थमा उल्लिखित रीतिथितिसम्बन्धी नियमहरुको आंशिक पालना गर्दैछन्
।
No comments:
Post a Comment