किरात पुरोहितहरु र झाँक्रीहरु
किरात जातिका पुरोहितहरुलाई सम्पूर्ण किरात किम्बदन्तीहरु कण्ठ नै हुन्छ र विभिन्न उत्सवपर्वहरुमा उनीहरु यस्ता किम्बदन्तीहरु सुनाउँछन् । मार्क गाबोरिओको शव्दमा ,,समष्टिमा यी किम्बदन्तीहरुबाट विश्वब्रह्माण्डबारे र त्यसमा किरात जातिहरु तथा तिनका विभिन्न थरहरुको स्थानबारे थाहा पाउन सकिन्छ,, (३६, पृ. ४९) । विश्वसृष्टिसम्बन्धी पुराकथाहरु र पूर्खाहरुको बारेमा अनुश्रुतिहरुको अतिरिक्त
किरात जातिका भौगोलिक प्रदेशहरुबारे सूचना समेत यस्ता किम्बदन्तीहरुमा पाउन सकिन्छ । स्वर्गलोक र पाताललोकको वर्णनको अलावा दिवंगत पूर्खाहरुको लोकहरुको पनि बयान पाइन्छ । कुनै रोगीको औषधिमूलो गर्नुपर्दा अथवा झाँक्रीले कम्पनको समयमा बिरामीको आत्मा खोज्दै चहार्ने वा अन्तेष्टिको समयमा मृतकको आत्मालाई परलोकतर्फ डोर्याउँदै लाँदा पार गर्नुपर्ने सबै मण्डलहरुको पनि तिनमा वर्णन गरिएको हुन्छ । कुनै धार्मिक अनुष्ठानको समयमा आह्वान गरिने देवदेवीहरुको बारेमा तथा घर, खेत, वन, नदी र वंशका संरक्षक देवताहरुको बारेमा पनि अनुश्रुतिहरु छन् (३६, पृ. ४९) ।
मार्क गाबोरिओले जनाएअनुसार किरातहरुका पुरोहित र झाँक्रीहरु दुइ प्रकारका हुन्छन् । ,,पहिलो यस्तो पुरोहित अथवा झाँक्री हो जसले कुनै जातिका मानिसहरुको जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारहरुसित सम्बन्धित सामान्य पाठपूजा सम्पन्न गर्दछ र त्यस जातिको वंश र भूभागको संरक्षण प्रदान गर्दछ । अनि दोस्रो चाहिं केवल झाँक्री मात्र हो जसलाई कुनै आपदविपद, रोगव्याधि, भूतप्रेतको हमला, दुर्घटना, अकाल मृत्यु जस्तो विशेष संकटको समयमा निम्त्याइन्छ,, (३६, पृ. ४९) ।
उदाहरणका लागि भन्ने हो भने लिम्बु जातिमा फेदांगमा अथवा याबा (शाम्बा, सम्भवतः मान्देम्बा) भनिने पुरोहितले विभिन्न पूजापाठ सम्पन्न गर्दछ । खतरनाक भूतप्रेतलाई मन्छाउनु परेको छ भने याबाले तन्त्रमन्त्र गर्दछ भने सामान्य पूजापाठ चाहिं फेदांगबाले सम्पन्न गर्दछ । के भन्न सकिन्छ भने फेदांगबा पुरुष जगत्सित सम्बन्धित छ जसले ,,विश्वव्यवस्थाको संरक्षण गर्दछ र त्यसको उलंघनलाई पहिलेबाटै रोक्दछ,, तर याबा चाहिं मुख्यतया नारीहरुसंग सम्बन्धित हुन्छ र उसले ,,उत्पन्न गडबडीको निराकरणका लागि संघर्ष गर्दछ,, (३६, पृ. ६०) । यस प्रकार एक दोस्राको परिपूरकको रुपमा रहेका यस्तै खालका दुवै थरीका पुरोहितहरुले अन्य किरात जातिहरुको पनि सबै कर्मकाण्डहरु सम्पन्न गर्दछन् ।
सुनुवार जातिमा नासो र जिरेल जातिमा चाहिं फोम्पो भनिने पुरोहितले परम्परागत पूजापाठ सम्पन्न गर्दछ । पूर्वतिर बसोवास गर्ने सुनुवारहरुमा जातीय परम्परा बढी सुरक्षित रहेको पाइन्छ । उनीहरुको कर्मकाण्ड सम्पन्न गर्ने दुवै किसिमका पुरोहितहरु रहेका छन् । धिमाल जातिमा पनि दुवै किसिमका पुरोहितहरु छन् जो धामी र ओझा भनिन्छन् । तर उनीहरुमा के अन्तर छ भने धामीले सबै धिमालहरुका साझा देवताहरुको पूजापाठ गर्दछ भने ओझाले चाहिं पारिवारिक देवताहरुको मात्र पूजाआजा गर्दछ (१६, पृ. १७९-१८०) ।
लेप्चाहरुमा चाहि बोन्थिंग (पुरुष पुरोहित) र मुन (नारी पुरोहित) को अस्तित्व छ । लेप्चाहरुमा मातृसत्तात्मक सामाजिक व्यवस्थाको अवशेष सुरक्षितै रहेको पाइन्छ । लेप्चाहरुका धार्मिक चाडबाडहरुमा पुरुष र नारी दुवै थरीका पुरोहितहरुले भाग लिन्छन् । मुन अर्थात् नारी पुरोहितहरु अक्सर ,,पारलौकिक शक्तिहरुसंग सम्पर्क,, राख्तछन् भने बोन्थिंग अर्थात् पुरुष पुरोहितले चाहिं बिरामीको औषधिमूलो गर्दछ अथवा शुद्ध गर्ने विधि सम्पन्न गर्दछ (३७, पृ. ५१२) ।
किरात पुरोहितले परिवार र सम्पूर्ण गाउँकै सुखसमृद्धिको उद्देश्यले सम्पन्न गरिने सावधिक रीतिरिवाज सम्पन्न गर्दछ । उदाहरणका लागि भन्ने हो भने लिम्बु जातिका प्रतिनिधिहरु शरद् र वसन्तमा गरी वर्षको दुइपल्ट पुरुष पुरोहित फेदांगमालाई आफ्नो घरमा निम्त्याउँछन् । ऊ घरको माथिल्लो तलामा समेत जान सक्छ । शुरुमा उसले पुर्खाहरुको गुणबखान गर्दछ, त्यसपछि मात्र उसले जीवितहरुको सुरक्षाका लागि र परिवारको सुखसमृद्धिका लागि देवताहरुसंग प्रार्थना गर्दछ । मार्क गाबोरिओको भनाइअनुसार ,,यो कर्मकाण्ड निकै परिष्कृत छ । यसै विधिको समयमा फेदांगबाले लिम्बु जातिको उत्पत्ति र रीतिरिवाज (विश्वसृष्टि, दश पूर्वजलोक,
जसमध्ये एउटा लोकमा त्यस घरको मालिकका पुर्खाहरुलाई उसले राखेको हुन्छ, पुरोहितहरु र देवदेवीहरुको प्रादुर्भाव आदि) को बारेमा सम्पूर्ण किम्बदन्तीहरु सुनाउँछ । यस विधिको समयमा उसले गृहस्वामीको आत्मालाई आठ बाटोको संगमस्थल भएको परलोकमा लिएर जान्छ र त्यसलाई जीवितहरुको मार्गबाट पूर्व
दिशातर्फ पठाउँछ र त्यसको पछि लाग्दै ऊ पनि तीन बाटो जोडिएको ठाउँसम्म पुग्दछ । त्यहाँ पुगेपछि उसले बीचको बाटो रोज्दछ र समथर ठाउँमा पुगेपछि एउटा फूल भेट्टाउँछ, जुन घरको मालिकको जीवनको प्रतीक हो । परलोकको यस्तो यात्रा सम्पन्न गरेपछि गृहस्वामी नयाँ शक्ति ग्रहण गरेर जीवितहरुकहाँ नै फर्कन्छ ।उसले यस बाटोमा देखेका वस्तुहरुको आधारमा फेदांगमाले सम्पूर्ण परिवारको निम्ति भविष्यावाणी गर्दछ,, (३६, पृ. ५९) ।
अन्तेष्टिकर्मको विवरणको आधारमा किरात पुरोहितको क्रियाकलापको बारेमा स्पष्ट बोध हुन सक्तछ ।
किरातहरुको अन्तेष्टिक्रिया दुइ चरणमा सम्पन्न गरिन्छ । पहिलो चरणमा मृतकको शव दफनाइन्छ र उसको आत्मालाई पुर्खाहरुको लोकमा पठाइन्छ । दोस्रो चरणमा घेवा अथवा साँल्यों (लेप्चा) सम्पन्न गरिन्छ र यो संस्कार पहिलो संस्कार सम्पन्न गरिएको केही दिन, हप्ता वा महीनापछि सम्पन्न हुन्छ । केवल पुरोहित (लिम्बु जातिमा फेदांगमा र लेप्चा जातिमा नारी पुरोहित मुन) ले मात्र मृतकको आत्मालाई पुर्खाहरुको लोकमा डोर्याउन सक्तछ । मान्छेको मृत्युपछि उसको शवलाई दफनाइएपछि पनि आत्मा चाहिं गाउँमा विचरण गरिरहन्छ भन्ने विश्वास गरिन्छ । यस विषयमा तल विस्तृत रुपमा चर्चा गरिनेछ ।
माथि उल्लेख गरिएका पुरोहित र झाँक्रीहरुको दुर्इ प्रकारको अस्तित्व रहे-नरहेको आधारमा कुनै पनि किरात जातिमा परम्परागत धर्म कुन स्तरमा सुरक्षित रहन गएको छ भन्ने अनुमान लगाउन सकिन्छ । दुवै थरीका पुरोहितहरु स्पष्ट रुपमा अस्तित्वमा रहेको खण्डमा परम्परागत धर्म पनि व्यापक रुपमा कायम रहेको बोध हुन्छ । यसको विपरीत अवस्थामा परम्परागत धर्मको स्थिति पनि कमजोर हुँदै गएको थाहा पाउन सकिन्छ । पहिलो खालका पुरोहितहरुको स्थान उत्तर (तिब्बत) र दक्षिण (भारत) दुवैतिर रहेका धर्महरु अर्थात् बौर्द्धधर्म र हिन्दू धर्मका पुरोहित (लामा तथा ब्राहृमण) हरुले लिन्छन् । दोस्रो खालका पुरोहितहरु चाहिं अस्तित्वमा रहिरहेका हुन्छन् तर तिनको स्थान र महत्व भने बोक्सा-बोक्सीको स्तरसम्म गिरेको हुन्छ र उनीहरुको स्मृतिमा परम्परागत पुराकथा र किम्बदन्तीहरु पनि खिइएको अवस्थामा मात्र सुरक्षित रहेका हुन्छन् ।
किरात जातिमा पूर्वज पूजा
किरात जातिमा मरेर गएका पुर्खाहरुप्रति विशेष सम्मान जनाइन्छ । घरको मुख्य खम्बा अथवा अगेनुलाई अति पवित्र मानिन्छ । त्यसैको छेउमा परिवारका सदस्यहरुको उपस्थितिमा मृत पुर्खाहरुको श्राद्ध गरिन्छ । उदाहरणार्थ, राई जातिमा ,,हरेक वर्ष शरद ऋतुमा अगेनुनेर पितापुर्खाको स्मरण गरिन्छ र नयाँ अन्नबालीको एक मुठी अन्न, अदुवाका टुक्रा, जाँड र रक्सी
चढाइन्छ । पराई मानिसहरुलाई अगेनुको स्पर्श समेत गर्न दिइँदैन,, (३३, पृ. ८३) ।
किरातहरु परिवारमा मृतकहरुको स्मृतिमा श्राद्ध सम्पन्न गर्दछन् । यसको लागि गाउँको छेउमा कुनै चहुरमा खम्बा वा लठ्ठी गाडिन्छ । त्यो आत्मालाई स्वर्गतर्फ डोर्याउने मार्गको प्रतीक हो। मृतकको नाममा बलि चढाइएको सुंगुरको पुच्छर त्यसै लठ्ठीको टुप्पामा राखिन्छ । त्यसैमा लुगाका धराहरु पनि बाँधिन्छन् । पुरोहितले त्यसलाई बायाँ पारेर त्यसको वरिपरि परिक्रमा गर्दछ र लय हालेर मृतकको आत्माले पार गर्ने बाटोसम्बन्धी बयान पनि गर्दछ । त्यसपछि ऊ पुर्खाहरुको वेदीसम्मको फिर्ती बाटो देखाउँदै मृतकको घरमा फर्कन्छ ।
किरात जातिमा प्रचलित अन्तेष्टिक्रियाको दोस्रो चरणको पनि चर्चा गर्नु आवश्यक छ । मृतकको आत्मा पितापुर्खाको लोकतर्फ गइसकेपछि यो रीत पूरा गरिन्छ । शुरुमा पुरोहितले कुखुराको भाले, सुंगुर अथवा राँगोको बलि दिन्छ । बलि चढाइएको पशुपक्षीको आत्माले मृतकको आत्मालाई अन्तिम मार्गमा साथ दिन्छ । लामो लय हालेर गीत गाउँदै पुरोहितले आत्माहरुलाई बाटो लाग्ने संकेत दिन्छ । यस गीतमा परलोक यात्राका सबै चरणहरुको बयान गरिएको हुन्छ । मृतकको आत्माले गीतमा बयान गरिएअनुसार यो बाटो पार गर्दछ र अन्त्यमा त्यो कुनै समयमा
आफ्नो थरको आदिवासस्थान रहेको पर्वतश्रृंखलाको माथिल्लो स्थलमा अवस्थित चुलीसम्म पुग्दछ । पुरोहितले मृतकको आत्मा तथा त्यसलाई साथ दिने पशु वा पक्षीको आत्मालाई पनि त्यसै चुलीमा बसाउँछ । त्यसपछि ऊ फिर्ती बाटोको वयान गर्न थाल्दछ र त्यसै मार्गबाट ऊ स्वयं मात्र होइन कि मृतकको आत्मा पनि फर्केर आउँछ । हरेक वर्ष त्यसै मार्गबाट मृतकको आत्मा आफ्नो घरमा फर्केर आउँछ, जहाँ अन्य पितापुर्खाका आत्माहरुलाईझैं उसलाई पनि ससम्मान पूजा गरिन्छ । लिम्बु जातिमा चाहिं मृतकको परिवारको घरको चोटाकोठामा बसेर फेदांगबाले मृतकको आत्मालाई पक्रन्छ र त्यसलाई सुनिश्चित बाटोमा डोर्याउँछ । त्यो बाटो घरको मूल खम्बाबाट होइन कि अगेनुबाट शुरु हुन्छ ।
धुवाँको मुस्लोको साथसाथै मृतकको आत्मा पनि घरको छानामा रहेको धुवाँकसबाट बाहिर निस्कन्छ । त्यहाँबाट नै परलोकतर्फ त्यसको सामान्य यात्रा शुरु हुन्छ । अन्त्यमा त्यो आत्मा परलोकको केन्द्रमा रहेको आठओटा मार्गहरुको संगमस्थलमा पुग्दछ । अनि
पूर्व दिशामा पर्ने
जीवितहरुको लोकतर्फ पीठ फर्काएर फेदांगमाको आत्माले मृतकको आत्मालाई पश्चिम दिशामा रहेको सरोवरतर्फ आकर्षित गर्दछ । त्यसै सरोवरपारि मृतकहरुको बस्ती रहेको छ जहाँ मृतकका पुर्खाहरुले उसको प्रतीक्षा गरिरहेका हुन्छन् । त्यसै बस्तीमा फेदांगमाले मृतकको आत्मालाई छोड्छ र आफू चाहिं लगत्तै घरको अगेनुतिर फर्कन्छ ।
लेप्चा जातिकी नारी पुरोहित मुनले चाहिं मृतकको आत्मालाई कैयौं भञ्ज्यांग, वनजंगल, गुफाकन्दरा र नदीनालाहरु पार गराउँदै लैजान्छे र च्यू भनिने आदिम हिउँचुलीसम्म पुर्याउँछे । यो हिउँचुली उत्तर दिशामा कतै रहेको अनुमान गरिन्छ । लेप्चाको निश्चित थरको मूलथलो मानिने निश्चित च्यू हिमशिखरमा पुगेपछि मुनले शुरुमा चाँदीको साँचोले र त्यसपछि सुनको साँचोले ढोका खोल्दछे र मृतकको आत्मालाई पुर्खाहरुको काखमा सुम्पिदिन्छे । लेप्चा जातिका पुर्खाहरु स्वर्गमा बस्तछन्, किनभने उनीहरुमा नर्क भन्ने अवधारणा छैन । यसरी मृतकको आत्मालाई स्वर्गलोकमा पुर्याइएपछि जाँदाखेरिको भन्दा विपरीत क्रमले अर्थात् शुरुमा सुनको साँचो र त्यसपछि चाँदीको साँचोले ढोकामा ताल्चा मारेर मुनको आत्मा सरासर पृथ्वीमा फर्कन्छ । यसैकारण लेप्चाहरुको धारणाअनुसार मृतकको आत्मा कहिल्यै पनि पृथ्वीमा फर्केर आउँदैन,, (१४, पृ. १३) ।
लिम्बु जातिमा आफ्नो थरको देवता मांगेना र आद्यमाता ह्यूमाहिंदांगमाको पूजाआजा गर्ने चलन छ । यी दुवै देवात्माहरु लिम्बू जातिको साझा पुर्खा मानिन्छन् (४४, पृ. ४५) । लिम्बुहरु यसै गरी हरेक वर्ष मरेका आफ्ना नातेदारहरुको स्मृतिमा थेमांगबा भन्ने रीत पनि सम्पन्न गर्दछन् (४४, पृ. ४६) । राई जातिमा चाहिं आफ्ना साझा पुर्खाको पूजा प्रमुख कुलदेवताको रुपमा गर्ने चलन छ र उनीहरु खाना खानुभन्दा पहिले आफ्ना पुर्खेउली देवताहरुको सम्झना गर्दै केही गेडा अन्न चढाउँछन् । उनीहरु आफ्ना ती कुलदेवताहरुलाई सिकाताखुबूढो, बाल्मोबूढी, कुलुंगबूढी, मांगतेवाबूढी, मोलुसिकारी आदि विभिन्न नाउँले पुकार्दछन् (४४, पृ. ३८) ।
धिमाल जातिका पर्ुखाहरुको चाहिं झाउरागेलाइ भन्ने सगोल नाउँ छ । यसको अर्थ हुन्छ ,,गुएलोको पात,, । उनीहरु आफ्ना मृतक नातेदारहरुको आत्मालाई गुएलोको पात चढाएर मृतकहरुको लोकतर्फ पठाउँछन् । सम्भवतः यसैको आधारमा उनीहरुको पुर्खाको साझा नाउँ रहेको होला (१६, पृ. ९४) । धिमाल जातिको प्रत्येक थरले हरेक वर्ष आफ्ना पुर्खाहरुको स्मरण गर्दछ र यस अवसरमा कुखुराको भाले अथवा पोथीको बलि चढाइन्छ । धिमालहरु खास आफ्ना पूर्वजहरुलाई मात्र देवताको रुपमा मान्दैनन्, बरु चौमाझी अथवा माझी (गाउँको मुखिया) धामी (पुरोहित) र राजा (नेता) आदिका मृतात्माहरुको पनि पूजा गर्दछन् ।
किरात जातिमा विभिन्न वस्तुहरुको आत्मासम्बन्धी अवधारणा पनि कायम छ । उदाहरणार्थ, बाली लगाउने काम समाप्त भएपछि घरका मालिक्नीले भूमाता अर्थात् कृषिकर्मकी देवीलाई कुखुराको बलि चढाउँछे । यो पूजाविधि पुरुषहरुले सम्पन्न गर्न पाउँदैनन्,, (३७, पृ. ८११-८१२) । यो चलन पनि मातृसत्ताको अवशेष प्रतीत हुन्छ ।
किरात जातिका देवदेवीहरु
किरातहरु आदिशक्तिस्वरूपा रणदेवीको रूपमा यूमासाम्मान भनिने देवीको पूजा गर्दछन् । यसलाई उनीहरु प्रमातामही अर्थात् बज्यैको रुपमा सम्मान दर्शाउँछन् । यस देवीको मन्दिर याशोक भन्ने ठाउँमा छ । यसको आधारमा यस देवीले याशोकिनी रानी भन्ने पनि नाउँ प्राप्त गरेको छ । वर्षो दुइपल्ट यस देवीको विशेष पूजा सम्पन्न हुन्छ (१०, पृ. ८८-८९) ।
कैयौं देवदेवीहरु किरात जातिका संरक्षकको रुपमा पूजिन्छन् । लिम्बुहरु सिंगबुंगबा
अर्थात् वृक्षका देवता, लुंगबुंगबा अर्थात् ढुगाका देवता, खांगबुंगबा अर्थात् भूमिका देवता आदि विभिन्न देवदेवीहरुको पूजा गर्दछन् (४४, पृ. ४५) । राईहरु चाहिं स्थानीय देवताहरुको पूजा गर्दछन् । तीमध्ये हिउँचुलीहरुमा निवास गर्ने जालपादेवी एक प्रमुख देवी हुन् । यसै गरी राईहरु सप्तकन्या नामक सात बालिका देवीहरुको पनि पूजा गर्दछन् । साथै उनीहरु आकाशगंगाको रुपमा सप्तकोशी नदीको पनि पूजा गर्दछन् जसको किनारामा उनीहरुको बसोवास छ । उनीहरुको निम्ति पूर्वी नेपालको भूभागमा बग्ने सप्तकोशी पवित्र र पूजनीय छ । राईहरुको धारणअनुसार ,,आकाशमा देखिने आकाशगंगा वस्तुतः यिनै नदीहरुको प्रतिबिम्ब मात्र हो,,
(४४, पृ. ३८) ।
राईहरु आफ्नो वंशका प्रमुख देवताको रुपमा काल्पनिक साझा पुर्खाहरुको पूजा गर्दछन् । ती हुन् : सिकाताखुबूढो, बाल्मोबूढी, कुलुंगबूढी, मांगतेवाबूढी, मोलुसिकारी आदि । किम्बदन्तीअनुसार
उनीहरु कुनै समयमा रहस्यमय ढंगबाट लोप भएका थिए । उत्सवपर्व र धार्मिक अनुष्ठानको समयमा तिनलाई खानेकुरा चढाइन्छ । यसको साथै हरेक दिन भोजन गर्नुअगाडि पनि तिनको निम्ति केही गेडा अन्न चढाइन्छ । यसलाई नै न्वागी भनिन्छ (४४, पृ. ३८) । राईहरुको घरमा खामांग भनिने अदृश्य आत्मा रहन्छ । त्यसको निम्ति एक कुनामा माटोको एक विशेष भाँडो राखिएको हुन्छ । हरेकपल्ट शिकार गरेर फर्केपछि उसलाई शिकारमा मारिएको पशुपक्षीको एक टुक्रा मासु सर्वप्रथम चढाइन्छ ।
लिम्बुहरु पनि विभिन्न प्रकारका अदृश्य जीवात्माहरुको पूजा गर्दछन् र तिनलाई बलि पनि चढाउँछन् । लिम्बुहरुको घरघरमा आदिपुरुषको रुपमा मानिने मांगेन भनिने देवता तथा आदिमाताको रुपमा मानिने हृयूमाहिंदांगमा भनिने देवीको वेदी वा स्थान छुट्याइएको हुन्छ
। तिनलाई लिम्बु जातिको साझा पुर्खाको रुपमा लिइन्छ । हरेक वर्षतिनको स्मरण गर्दे खानेकुरा चढाइन्छ ।
लिम्बु जातिमा वर्षको दुइपल्ट अर्थात् वसन्त र शरद्मा क्रमशः योक्वा (नेपालीमा उभौली) र न्वागी (नेपालीमा उधौली)
भनिने चाड मनाउने चलन छ । उनीहरु माई (नदीकी देवी), नाम्फुन्योक (पर्वतका देवता), कुदाप (वनका देवता) इत्यादिलाई पनि बलि चढाउँछन् । उनीहरु हिमशिखरहरुमा निवास गर्ने
मानिएका पाथीभरा, कालिका, ठूलो देवी आदि विभिन्न देवदेवीहरुको पनि पूजा गर्दछन् (४४, पृ. ४५) ।
लेप्चा जातिमा पनि पर्वतको पूजा प्रचलित छ । यस्तो पूजाको सबभन्दा ज्वलन्त उदाहरणको रुपमा
पवित्र पर्वत कञ्चनजंघाको पूजालाई लिन सकिन्छ । ठूल्ठूला ढुंगाहरुको दुइ समूहलाई पर्वतश्रृंखलाको प्रतीकको रुपमा
ग्रहण गरिन्छ । लेप्चाहरुमा त्यो ल्हाम्हु नामले प्रसिद्ध छ । यस्ता ढुंगाहरुको प्रत्येक समूहको बीचमा सबभन्दा ठूलो ढुंगा राखिएको हुन्छ । एउटा समूहको यस्तो केन्द्रीय ढुङ्गाले कञ्चनजंघा देवताको प्रतिनिधित्व गर्दछ भने अर्को समूहको केन्द्रीय ढुङ्गा त्यस पर्वतका पत्नीको रुपमा पूजिन्छ । लेप्चा जातिको यस्तो पवित्र पूजास्थलले लामाधर्मको प्रचलनभन्दा पहिलेको प्राचीन धार्मिक रीतिथितिको बोध गराउँछ । यस्तो पूजास्थलमा हरेक वर्ष चमरी गाईको बलि दिएर विशेष पूजा गर्ने चलन छ (३७, पृ. ५१२) ।
धिमाल जातिमा नदीलाई देवताको रुपमा पूज्ने प्रचलन छ र सप्तकोशी नदी पार गर्नु पनि वर्जित मानिएको छ । धिमालहरु विशेषतः कन्काई नदीको सम्मान जनाउँछन् । वार्षिक पूजाको वेला यस नदीलाई रातो, सेतो र कालो ध्वजाको साथै पंचबलि समेत चढाउँछन् (१६, पृ. १०७) ।
आफ्ना देवदेवीहरुलाई धिमाल जातिले शाकोदीर (शाली) तथा देराकोदीर (ग्रामदीर) गरी
दुइ समूहमा बाँड्ने गरेका छन् । अर्को शव्दमा भन्ने हो भने तिनलाई पारिवारिक कुलदेवता र सामूहिक साझा देवताको रुपमा वर्गीकरण गर्न सकिन्छ । शाकोदीर वा शाली कुलदेवताको रुपमा पूजिन्छ र त्यसलाई यस्तो घरमा राखिन्छ जसको मोहडा पूर्वतिर फर्केको हुन्छ । कतिपय धिमालहरु जलदेवता आदिको अतिरिक्त चाम्सारी (चम्पासारी), काली, अनि कालीको वाहन मानिने मसान जस्ता प्रथम वर्गका देवदेवीहरुको पनि पूजा गर्दछन् । पूजा गर्नुलाई उनीहरु ,,खुवाउने,, भन्दछन् । कुन कुरा पनि कम रोचक छैन भने
धिमालहरु अंशबण्डाको समयमा यी देवदेवीहरुलाई उत्तराधिकारको रुपमा प्राप्त गर्दछन् । दोस्रो वर्गका देवदेवीहरु साझा हुन्छन् अर्थात् गाउँका सम्पूर्ण वासिन्दाहरु वर्षा ऋतुको आरम्भ (असार महीना) मा र शरद् ऋतु (कार्तिक महीना) मा गरी वर्षको दुइपल्ट सामूहिक रुपमा पूजा गर्दछन् । तिनको लागि गाउँको नजीकै
पूर्व दिशामा पर्ने
वनमा विशेष स्थान बनाइएको हुन्छ । यस्तो स्थललाई ग्रामथान भनिन्छ जुन अक्सर अग्लो थुम्कोमा रहेको हुन्छ । मानिसहरु त्यहाँ देवताको लागि भण्डार, भान्सा, तलाउ, सुंगुरको खोर, कुखुराको खोर र अझ हात्तीसारको समेत निर्माण गर्दछन् (१६, पृ. ७५-८२) ।
धिमालहरुले अर्को किसिमबाट पनि आफ्ना देवदेवीहरुको वर्गीकरण गर्ने गरेका छन् । यसअनुसार तिनका देवदेवीहरु दुइ भागमा बाँडिएका छन् : तागाधारी अर्थात् जनै धारण गर्ने र मतवाली अर्थात् जाँडरक्सीको सेवन गर्ने । पहिलो वर्गका देवदेवीहरुलाई हाँस, परेवा र हरिणको मात्र बलि चढाउन सकिन्छ भने दोस्रो वर्गका देवदेवीहरुलाई सुंगुर र कुखुराको बलि चढाइनुका साथै जाँडरक्सी जस्ता मादक पदार्थ पनि चढाइन्छ । धिमालहरु स्वयं पनि मतवाली मानिन्छन्, परन्तु तागाधारी वर्गका देवदेवीहरुप्रति विशेष सम्मान जनाउँछन् र तिनलाई राजा भनेर सम्बोधन गर्दछन् । यस्ता तागाधारी देवदेवीहरुमध्ये राधाराम (राजा धरम) अथवा राधाम्पाल (राजा धनपाल) आदि उल्लेखनीय छन् । अनि कतिपय धिमालहरुले आफ्नो कुलदेवताको रुपमा मान्ने रासती
तथा
थारु जातिले पनि आफ्नो जातीय देवताको रुपमा मान्ने गरेको चौधरी (बहादुर चौधरी) भनिने देवताहरुलाई त धिमालहरु महाराज समेत भनेर सम्मान जनाउँछन् । सम्भवतः वास्तविक राजाहरुकै स्मृतिमा राजा र महाराज भनेर संबोधन गरिने देवताहरु अस्तित्वमा आएका हुन् । मतवाली वर्गमा पर्ने देवदेवीहरुमध्ये बूढा ठाकुर विशेष रुपले पूजनीय छ । यसलाई बिजेपुरस्थित बूढा सुव्बा अथवा काठमाडौंस्थित बूढानीलकण्ठकै पर्याय मान्ने गरिएको छ । कतिपय धिमालहरु चाहिं यसलाई भीमसीन (भीमसेन) भन्दछन् । यस देवताको अतिरिक्त धिमालहरु वनका देवता (वन्तराजा र शिकारी), ग्राम देवता (देरागेलाइ), नदीकी देवी (माईवेरांग), भूदेवी (भोनाइ), विभिन्न रोगव्याधिकी देवी (सन्सारी) तथा पूर्वज देवता (जाउरागेलाइ) आदिको पनि पूजा गर्दछन् (१६, पृ. ८५-१००) ।
वराहक्षेत्रपारिको मैनाथानमा किरात जातिको पुर्खेउली देवता मैनामैनी (सम्भवत: मेनकाकी पुत्री पार्वती) को मन्दिर छ । त्यहाँ अद्यापि राई जातिका पुजारी रहेका छन् जो आफूलाई वाल्मिकी ऋषि तथा किरातकी छोरीबाट जन्मेका सन्तान बताउँछन् र ऋषिगोत्रका मान्दछन् (३७क, २०४०,
पृ. ३३६-३४०) ।
आफूलाई सूर्यवंशी मान्ने जिरेलहरु कुलदेवताको रुपमा सूर्यको पूजा गर्दछन् र त्रिशूल चढाउँछन् । यसबाहेक उनीहरु आफ्ना पुरोहित फोम्बोको माध्यमबाट वनको विशेष स्थानमा वा घरैमा वैशाख पूणिर्मा र यदाकदा मार्ग पूणिर्माका दिन पनि ल्हा, चेन, छ्योमु, चेराम्जो आदि नामका देवताहरुको पनि वार्षिक पूजा गर्दछन् (जिरेल, १९९२, पृ. २३) ।
किरात जातिको
पवित्र ग्रन्थ “मुन्धुम” को
आरम्भमै “ओम तागेरा निङ्वा फुमाङ” भन्ने लेखिएकोबाट नै यस प्राचीन जातिले ॐ को सत्व
स्वीकार्दै जताबाट पनि आइपुग्ने उज्यालोको रूपमा निङ्वा फुमाङ्लाई सर्वव्यापी
ईश्वरको मान्यता प्रदान गरेको सिद्ध हुन्छ (७, १९६१, पृ. १)।
No comments:
Post a Comment