किरात जातिको इतिहास
परम्पराअनुसार नेपालको प्राचीन इतिहास विभिन्न कालमा
विभाजित गरिन्छ । प्राग्ऐतिहासिक काललाई अनुश्रुतिकाल पनि भनिन्छ जुन ईशापूर्व सात
शताव्दीभन्दा अगाडिको कालखण्ड हो । त्यसपछि एकपछि अर्को गरी तीनवटा राजवंशको शासनकाल
रहेको अनुमान गरिएको छ । ती राजवंश हुन् : गोपाल (गाईपालक) वंश, महिषपाल
(भैंसीपालक) वंश र किरात वंश । यी तीन वंशले नेपालमा ईशापूर्व सातौं शताव्दीदेखि
द्वितीय शताव्दीसम्मको कालखण्ड ओगटेका छन् । नेपालको इतिहासमा यस समयावधिलाई अनुश्रुति
काल र त्यसपछिको लिच्छवि वंशको शासनकाललाई प्राचीन काल तथा मल्ल वंशको शासनकाललाई मध्यकाल मानिएको छ । शाह वंशको शासनकालदेखि
नेपालको इतिहासमा आधुनिक युगको आरम्भ हुन्छ ।
इमानसिंह चेमजोंगको कथनानुसार ,,प्राचीन
समयमा केन्द्रीय नेपालका प्रथम किरात राजा वाणासुर थियो जसउपर पछि गोपाल वंशको भुक्तमान
भन्ने राजाले विजय प्राप्त गरेको थियो,, (४८, पृ. ६) । पछि तामाकोशीबाट पूर्वतर्फ येलुंगलाई राजधानी बनाएर
शासन गर्ने यलम्बर नामका किरात राजाले तामाकोशी र त्रिशुली नदीको बीचमा पर्ने भूभागमा
शाशन गरिरहेको गोपाल
(सम्भवत: यादव) वंशका भुवनसिंह भन्ने राजालाई जितेर पूर्वमा टिस्टा नदीदेखि पश्चिममा त्रिशुली नदीसम्म आफ्नो राज्यको
विस्तार गरेका थिए । यस विशाल राज्यको राजधानी काठमाडौं उपत्यकाको थान्कोटमा रहेको
थियो । उनैका वंशज पालम्बले किरातासुर भन्ने पदवी ग्रहण गरेका थिए र थान्कोटको नजिकै
सुप्रभा नामको नयाँ राजधानी बनाएका थिए,, (४८, पृ. ६-७) ।
जे जसो भए तापनि लिच्छविकालीन मूर्तिहरु तथा शिलापत्रहरुको
आधारमा नेपालको इतिहासमा किरात काल भन्ने नामले प्रसिद्ध समयावधिको बारेमा पनि केही
न केही अनुमान लगाउन सकिन्छ । कतिपय विद्वानहरुले काठमाडौं उपत्यकामा किरातकालीन मूर्तिहरु पनि प्राप्त भएको उल्लेख गरेका
छन् । लैनसिंह बांगदेलको भनाइअनुसार ,,पाटनस्थित च्यासलहिटीस्थित गजलक्ष्मीको केशविन्यास
अनौठो ढंगको र अध्यनयोग्य छ, किनभने यस मूर्तिमा केशका चुल्ठाहरु बीचबाट झरेर दुवैपट्टि
कानसम्म पुगेका छन् । छेउका चुल्ठाहरु छोटा र गोला आकारका देखिएका छन् । नेपाली कलामा
यस्तो बेजोडको केशसज्जा देखिएको यो पहिलो पटक हो । प्राचीन भारतीय कलामा यस्तो ढाँचाको
केशविन्यास आजसम्म देखिएको छैन । भारतीय कलामा पनि नदेखिएको यस प्रकारको केशविन्यासको
सृजना गर्नु नेपाली मूर्तिकारको खूबी र प्रतिभाको उदाहरण हो । यस प्रकारको दुवैपट्टि
कान कानसम्म पुगेको बाक्लो चुल्ठो केवल पूर्वलिच्छविकालका मूर्तिमा मात्र देखिन्छ ।
लिच्छविकाल शुरु भएपछि यस्तो केशको शैली एकदमै लोप हुन्छ । लिच्छवि वा उत्तरलिच्छविकालमा
यस्तो केशसज्जा कहीं पाइँदैन,, (१९, पृ. २६) । यसै गरी संस्कृत वाङ्मयका अनुसंधानकर्ता टीकाराम
शर्माले नेपालमा रचित मुख्यतया बुद्धधर्मसित सम्बन्धित केही संस्कृत ग्रन्थहरुलाई किरात
कालमा लेखिएको मानेका छन् । उनले किरात कालमा रचिएका भनी ६ वटा ग्रन्थहरुको सूची प्रस्तुत
गरेका छन् जसमध्ये “मञ्जुश्री मूलकल्प” पनि एक हो । उनले पादटिप्पणीमा जनाएअनुसार ,,रचना धेरै
पुरानो भएकोले यसलाई
लिच्छवि कालमा नराखेर किरात कालमा समावेश गरिएको छ । यसका लेखक नेपालका प्रथम शासक थिए,, (२७क,
२०३९, पृ. ३६) । टीकाराम शर्माले सूचित गरेका छन् : ,,किरात
कालका सबै रचनाहरु अप्रकाशित रुपमा राष्टिय अभिलेखालयमा, भारतका
रायल एशियाटिक सोसाइटीमा र केम्ब्रिज पुस्तकालयमा सुरक्षित छन्,, (२७क,
२०३९, पृ. ३६) । अवश्यमेव यी ग्रन्थहरुको वैज्ञानिक विश्लेषणको आवश्यकता
छ र त्यसको आधारमा मात्र
तिनको रचनाकाल अचूक रुपमा निरुपित गर्न सकिनेछ ।
जे होस्, काठमाडौं उपत्यकामा प्राप्त
लिच्छविकालीन शीलालेखहरुमा उत्कीर्ण केही किराती भाषाका शव्दहरुको आधारमा के अनुमान
लगाउन सकिन्छ भने लिच्छवि कालभन्दा अघि कुनै समयमा यहाँ किराती भाषाभाषी वासिन्दाहरु
रहेका थिए । लिच्छविकालीन शिलालेखहरुमा ,,संस्कृत भाषाको मूलपाठमा कैयौं
गैरसंस्कृत शव्दहरु, खास गरी पारिभाषिक शव्द र जलनामहरु पनि भेटृाइन्छन्
। त्यो लिच्छविपूर्वको भाषिक अवशेष हो जसको सम्बन्ध प्राचीन किरात जातिसंग छ,, (३४, पृ. १८३) । डिल्लीरमण
रेग्मी तथा लैनसिंह बांगदेल आदि कैयौं विद्वानहरुले काठमाडौं उपत्यकाका मूल वासिन्दा
वर्तमान नेवारहरुको नसामा पनि किरात रगत बगेको छ भन्ने राय प्रकट गरेका छन् । नेपाली
इतिहासविद् डिल्लीरमण रेग्मीको भनाइअनुसार ,,भाषिक तत्वले नेवार तथा किरातहरुको
स्पष्ट विभेदीकरणको मार्गमा बाधा हाल्न सक्छ तर यसको गहन विश्लेषणबाट के छर्लंग हुन
जान्छ भने नेवारी भाषा आंशिक रुपमा आधुनिक किरात भाषाहरुसित सम्बन्धित छ, किनभने
दुवै भाषाहरुमा कैयौ समान तत्वहरु मौजूद छन्,, (५३, पृ. ३) । अनि
लैनसिंह बांगदेलको मतानुसार चाहिं नेवार किसान अर्थात् ,,ज्यापूहरु
सम्भवतः प्राचीन किरातहरुकै वंशज हुन्,, (१९, पृ. १०) ।
भाषिक अनुसंधानको आधारमा मात्र नभई अन्य भौतिक दसीप्रमाणहरुको
आधारमा पनि प्राचीन किम्बदन्ती र अनुश्रुतिहरुको कथनको पुष्टि हुन्छ । कैयौं विद्वानहरुको
धारणाअनुसार काठमाडौं उपत्यकामा उपलव्ध कैयौ प्राचीन प्रस्तर मूर्तिहरु लिच्छविकालभन्दा
अघिका हुन् । प्रसिद्ध नेपाली चित्रकार एवं कलाविद् लैनसिंह बांगदेलको मन्तव्य के छ
भने “...ईस्बी चौथो शताव्दीको प्रारम्भिक कालका मूर्तिहरुमा मथुरा कुषाण
प्रभाव लोप भई त्यस कालमा स्थानीय मूर्तिकारहरुको शैली देखापर्छ जसका विषयमा माथि पनि
चर्चा भइसकेको छ । हुन सक्छ, त्यस वेला किरातहरुको शासन थियो । नेपाल उपत्यकाभित्र
पहिले गोपालवंशले राज्य गर्थे, त्यसपछि किरातहरुले शासन चलाए भनी “गोपाल राजवंशावली” मा लेखिएको कुरा माथिको
कुरासंग निक्कै मिल्दो देखिन्छ । अब त्यसलाई कल्पना मात्र नठानेर इतिहासकारहरुले प्राचीन
मूर्तिहरुको सन्दर्भमा त्यस कुराको खोजी गर्नुपरेको छ । मृगस्थलीमा प्राप्त (हाल राष्ट्रिय
संग्रहालय) राजपुरुष नाउँले परिचित ईस्बी चौथो शताव्दीको सूर्यमूर्तिको
अनुहार मंगोल वा किरातको जस्तो छ । आर्यघाटको विरुपाक्ष र त्यहींको सूर्यमूर्तिमा पनि
मंगोल आकृति स्पष्ट देखिन्छ । यी दुवै मूर्ति चारौं शताव्दीका हुन् । यस दृष्टिकोणले
हेर्दा चौथो शताव्दीलाई संक्रमण काल भने हुन्छ । ईस्वी चौथो शताव्दीको अन्तिम चरणतिर
स्थानीय सामन्ती किरातहरुलाई हराई लिच्छविहरुले आफ्नो हातमा शासन लिएको अनुमान हुन्छ,, (१९, पृ. १४९-१५०) ।स्मरण रहोस्, हालै प्राप्त
जयवर्माको प्रस्तरमूर्तिबाट दोस्रो शताब्दीतिर यहाँ वर्मावंशको शासन कायम रहेको
थियो भन्ने देखिन आउँछ ।
ठूलो नेपाल उपत्यकामा प्राचीन कालमा किरात वंशका राजाहरुले
शासन गरेका थिए भन्ने कुरामा सन्देह छैन । यसको पुष्टि गर्ने प्रत्यक्ष र परोक्ष प्रमाणहरु प्रशस्तै छन् । यस परिप्रेक्ष्यमा के भन्नु आवश्यक
छ भने “गोपाल राजवंशावली” को “निकै गहकिलो ऐतिहासिक
महत्व हुन्छ जुन सन् १३८७-१३९० तिर अज्ञात
लेखकद्वारा ताडपत्रमा आंशिक रुपमा संस्कृत र आंशिक रुपमा नेवारी भाषामा लेखिएको छ ।
यस वंशावलीमा ३२ जना किरात वंशका राजाहरुको नाम दिइएको छ जसको बारेमा कुनै ऐतिहासिक
दसीप्रमाण सुरक्षित रहेको छैन” (४१, पृ. ४) । परम्परागत मान्यताअनुसार यलम्बर या यलम (ईशापूर्व
नवौं शताव्दी) प्रथम किरात राजा मानिन्छन् । सम्भवतः आफ्नो राजधानीको रुपमा वर्तमान ललितपुर वा पाटनको स्थापना यिनैले गरेका थिए । आजसम्म पनि नेवारी
भाषामा यो नगर संस्थापकको नामबाट “यल” भनेर सम्बोधन
गरिन्छ (५४, पृ. ८३, ८७) ।
कतिपय इतिहासविद्हरुको धारणाअनुसार यलम्बर अथवा येलुंग
(यलम) ,,कुनै व्यक्तिवाचक नाम होइन, बरु यो
लिम्बु भनिने जातिवाचक नामकै पूर्वरुप हो । यो जाति पनि किरात जातिकै
अन्तर्गत पर्दछ,, (२८, पृ. ७३) । यलम्बर शव्दकै अपभ्रंश भई कालान्तरमा लिम्बु भन्ने
जातिवाचक शव्द अस्तित्वमा आएको हुनु पनि असम्भव छैन । यलम्बरपछि शासन गर्ने किरात राजाहरुमध्ये
जितेदस्ती र स्थुंकोलाई कतिपय इतिहासविद्हरुले क्रमशः गौतम बुद्ध (ईशापूर्व छैटौं शताव्दी) र भारतवर्षका
विख्यात सम्राट् अशोक (ईशापूर्व तेस्रो शताव्दी) का समकालीन
मानेका छन् (२८, पृ. ७२-७३) । परन्तु नेपाली भाषावंशावलीहरुमा “महाभारत” ग्रन्थमा उल्लिखित
एक प्रमुख नायक, पञ्चपाण्डवमध्येका एक भाइ अर्जुनले छैटौं किराती राजा हुमतीको
शासनकालमा किरात रुपधारी शिवलाई भेटेर दिव्यास्त्र प्राप्त गरेको र हुमतीका पुत्र जितेदस्तीले
चाहिं पाण्डवहरुको पक्ष लिएर कौरव तथा पाण्डवबीच भएको महाभारतको युद्धमा कुरुक्षेत्रमा
वीरगति प्राप्त गरेको वर्णन पाइन्छ (२८, पृ. २८) ।
नेपाली विद्वान् धूस्वाँ सायमीको मतानुसार ,,प्राचीन
कालदेखि नै पाटन (ललितपुर) सित किरातहरुको कुनै प्रकारको सम्बन्ध रहेको प्रतीत
हुन्छ, किनभने अद्यापि किरात वंशका केही प्रतिनिधिहरु त्यहाँ हरेक वर्ष
दिवाली पूजा समेत सम्पन्न गर्दछन्,, (५४, पृ. ८३) । यसको पुष्टि गर्ने कैयौं दसीप्रमाणहरु पनि छन् ।
यसको उदाहरणको रुपमा “किरात राजमार्ग” भन्ने नामले प्रसिद्ध पाटनबाट पूर्वतर्फ जाने एउटा पुरानो बाटो अथवा “पटुकोदों” भनिने एउटा थुम्कोलाई
नै लिन सकिन्छ । बाटोको निर्माण किरात कालमै भएको अनुमान हुन्छ भने पटुकोदों (पटुको
थुम्को) चाहिं किराती राजा पटुकोको नामसित सम्बन्धित प्रतीत हुन्छ । ,,च्यासलटोल
भन्ने नाम पनि वंशावलीको प्रमाणाअनुसार त्यस घटनासित सम्बन्धित छ जतिखेर किरात शासकहरुको
अत्याचार र दमनको विरुद्ध विद्रोहमा भाग लिने वासिन्दाहरुले किरात राजाका सिपाहींहरुलाई
क्वाबहालको किल्ला छाड्न विवश गरेका थिए । विद्रोहीहरुले उनीहरुलाई लखेट्दै जाँदा जुन
ठाउँमा भीषण भिडन्त भएको थियो त्यहाँ आठसय किरात सिपाहींहरु मारिएका थिए । यसैको आधारमा
च्यासलटोल (नेवारी भाषामा
च्यासल भनेको आठसय हुन्छ) नाउँ रहेको थियो । किरात राजाहरुको विरुद्ध भएको त्यस जनविद्रोहले गर्दा लिच्छवि वंशको शासनको निम्ति बाटो
सफा हुन गएको थियो,, (५४, पृ. ८६- ८७) । कुन कुरा पनि उल्लेखनीय छ
भने आफूलाई किरात वंशका सन्तति मान्ने केही नेवार परिवारहरु पनि
अद्यापि ललितपुरमा रहेका छन् ।
कतिपय भौतिक दसीप्रमाणहरु, मुख्यतः
पछिका परोक्ष स्रोतहरुको आधारमा के निष्कर्षमा पुग्न सकिन्छ भने ,,नेपालको
प्रशासनिक ढाँचा पहिलो पल्ट किराँत कालमा स्थापना भएको र नेपालको वाह्य सम्पर्क तथा
व्यापार विस्तार पनि यसै समयमा भएको मानिन्छ । नेपाल उपत्यकामा किराँतीहरुको शासन भएको
वेला तराई क्षेत्रमा लिच्छवि, बृजि, शाक्य, कोली, मल्ल आदि अनेक संघराज्यहरु विकसित भइसकेका थिए । पछि
उत्तर भारतको साम्राज्य विस्तार हुन थालेपछि लिच्छवि, मल्ल, कोलीय, शाक्य
आदि हिन्दू (आर्य भन्नु बढी उपयुक्त होला : कृष्णप्रकाश श्रेष्ठ) धर्माबलम्बीहरु
शरणार्थीको रुपमा नेपाल उपत्यकामा भित्रिन थाले । किराँतहरुले शरण पनि दिएर राखे ।
तर पछि लिच्छविहरुले किराँतहरुलाई पराजित गराएर शासन आफ्नो हातमा लिए । किराँत कालमा
किराँतीहरुको विस्तृत बसोवास भएकोमा हाल पूर्वी नेपालमा सीमित हुन पुगेको देखिन्छ,, (३१, पृ. १९ ः २०) ।
किरात किम्बदन्तीहरुको आधारमा के भन्न सकिन्छ भने कुनै
समयमा किरातभूमि अरुण नदीद्वारा दुइ भागमा विभाजित थियो । अरुणपूर्वको भूमि लिम्बुवान
भनिन्थ्यो जहाँ १० जना याक्थुम्बाहरु (किरात नेताहरु) को संघ
कायम थियो । दशलिम्बुआन नामले चिनिने यस राज्यको केन्द्र थियो : पाँचथरमा रहेको आम्बेपोजोंग
(फेदेन किल्ला) । अनि अरुणपश्चिमको भूमि चाहिं खम्बुवान भनिन्थ्यो जुन ताक्लुंग
खेवा हांगको आधिपत्यमा रहेको थियो । उनैले खोटांगमा एउटा किल्ला बनाएका थिए जुन चामलिंगचिमलिंग
भनिन्थ्यो । बाह्रौं शताव्दीको प्रारम्भमा किरात राज्यमा आसाम हुँदै आएका कुनै माओरोंग
हांगको आधिपत्य कायम हुन गयो । उनैको नामबाट मोरंग भन्ने नाम अस्तित्वमा आएको मानिन्छ
। उनैले रोंगली (हाल रंगेली भनिन्छ जो विराटनगरबाट पूर्वतर्फ रहेको छ) भन्ने नयाँ किल्ला बनाए । तर पछि उनी तिव्बततिर भाग्न
विवश भए र काम्पाजोंगमा तिव्बतका प्रतापी राजा स्रंगचेनगोम्पोका अधीनस्थ सामन्त बने
। पछि उनले उत्तरमा काम्पाजोंगबाट दक्षिणमा मोरंगसम्म फैलिएको व्यापक भूभागमा आधिपत्य
कायम गरे । उनको यस विशाल राज्यको ग्रीष्मकालीन राजधानी रादोक (तिव्बत) मा थियो
भने शीतकालीन राज्य चाहिं सांगुरी (धरानबाट उत्तरतर्फ) थियो ।
कालान्तरमा उबाहांग (ई.सं. ८४९-८६५) ले तिव्बतबाट माओरोंगहांगका
उत्तराधिकारीहरुलाई धपाएर तोंगसुमतोंगनाम भन्ने उत्सव मनाउने चलन चलाए । उनका छोरा
माबोहांग (ई.सं. ८६५-८८०) ले छेम्पोजोंग (इलाम) बाट याशोकजोंग
(उपल्लो तमोर) मा राजधानी सारे । उनलाई युमासाम्मा देवताको अवतार मानिन्छ ।
उनले नै विश्वसृष्टि र देवदेवीहरुका कथाहरु सुनाएको विश्वास गरिन्छ जो पवित्र ग्रन्थ
“मुन्धुम” मा संकलित छ । माबोहांगको
देहान्तपछि स्थानीय सामन्तहरुले आफ्नो स्वाधीनताको घोषणा गरे । अनि सत्ताका लागि संघर्ष
शुरु भयो । यांग्रुप्पाका शिरिजंगा
हांग (ई.सं. ८८०-९१५) भन्ने सामन्तले सबै विरोधीहरुलाई पराजित नतुल्याएसम्म यो संघर्ष
जारी रह्यो । सम्पूर्ण
किरात जातिको प्रमुख नेता र राजा बनेपछि शिरिजंगा हांगले फेदाप र चैनपुरमा किल्लाहरुको
निर्माण गराए । यिनै किराती राजा शिरिजंगा लीपिका आविष्कारक मानिन्छन् । भनिन्छ, उनले कञ्चनजंगा
पर्वतको एउटा हिमशिखर फोकटांग
लुंगमा भन्ने पर्वतमुनि रहेको गुफामा ज्ञानकी देवी निसाममांगको कृपाबाट यो लीपि वरदानको
रुपमा प्राप्त गरेका थिए (५०, पृ. ३४४-३४५) ।
सोह्रौं शताव्दीतिर धराननजिकै रहेको बिजेपुर किरात
नेताहरुको केन्द्र बन्यो । एघारौं शताव्दीदेखि सेन वंशको शासनकालमा किरातभूमि पनि आधिकारिक
रुपमा सेन वंशकै राज्य मानिएको थियो तर यथार्थमा त्यहाँ सेनवंशी राजाहरुको नियन्त्रण
कायम थिएन । त्यतिखेर एक किसिमको समझदारी के रहेको थियो भने पहाडवासी राई जातिका एक
प्रतिनिधिलाई मन्त्रीको पद सुम्पिएको थियो जो किरातहरुका प्रमुख नेता मानिएका थिए ।
यस्तो मन्त्रीपद प्राप्त गर्नेले देवान भन्ने उपाधि धारण गर्दथ्यो । अनि र्सवसाधारण
किरातहरुले चाहिं सेन वंशका राजाको सेनामा नियुक्ति पाउन सक्तथे र सरदार अर्थात् सेनापतिसम्म बन्न सक्तथे । यसरी किरातहरु नै आफ्नो
भूभागमा सर्वेर्सवा थिए र आफ्नो बसोवासको क्षेत्रमा खोरिया फाँडेर खेतीपाती पनि गर्दथे
। अठारौं शताव्दीको मध्यसम्म नै किरातहरुले पश्चिमतिर बस्ने अन्य पहाडी जातिहरुको तुलनामा आफ्नो सापेक्षिक
स्वाधीनता कायमै राखेका थिए ।
किरात जातिमा खास गरी लिम्बुहरुले गोर्खाली सेनाको
कडा प्रतिरोध गरेका थिए । गोर्खाली सेनाले माझकिरातका शासक कर्णसेनको दर्बारका पण्डितको
मद्दतबाट सन् १७७३ मा भोजपुर दखल गर्यो । दिंगला र चैनपुरमा भीषण भिडन्त भएको थियो
। तत्कालीन किरात वंशावलीमा चैनपुरनेर दुवै पक्षका सेनाका कम्याण्डरहरु रघु राना र
कांग्सो राईबीच भएको द्वन्द्वयुद्धको वर्णन पाइन्छ । त्यस द्वन्द्वयुद्धमा जित्ने कम्याण्डरको
पक्ष विजयी घोषित गरिने सहमति रहेको थियो । दुवै पक्षका सेनाहरु वि.सं. १८३१ को
बैशाख २५ गते (ई.सं. १७७४) बिहान द्वन्द्वस्थलमा दर्शकको रुपमा भेला भएका थिए
। मध्यान्हमा द्वन्द्वयुद्धमा रघु राना मारिएपछि गोर्खाली फौंजले एकाएक विजेताउपर हमला
गरेर त्यसै ठाउँमा उसको हत्या गरिदियो । लिम्बुहरु अब मूक दर्शक बनेर रहन सकेनन् ।
तर भीडन्तको फैसला रणक्षेत्रमा भएन कि कूटनैतिक तरीकाद्वारा गरियो । सन् १७७४ को अगस्टमा
शान्तिसन्धिमा हस्ताक्षर भयो । यस सन्धिअनुसार किरातहरुले नेपालका महाराजाधिराजको सर्वोच्च सत्ता स्वीकार गरे
तापनि अपेक्षतया स्वाधीनता हासिल गर्नुका साथै भूमिमा सामूहिक स्वामित्व अर्थात् कीपटको
अधिकार पनि कायम राखे (४८, पृ. ३४५-३४६) ।
बिजेपुरमा शासन गर्ने अन्तिम किराती राजाउपर विजय प्राप्त
भएपछि शाह वंशको सर्वोच्च शासनाधिकार स्वीकार गर्ने किरात जातिका नेताहरुलाई सम्माननीय
उपाधि बक्स भयो । खम्बु जातिका नेताहरुले राई, लिम्बु
जातिका नेताहरुले सुव्बा र याक्खा जातिका नेताहरुले देवान भन्ने उपाधि पाए (४४, पृ. २९) । किरात
भूमिको विलयनलाई तत्कालीन दस्तावेजहरुमा विजीत प्रदेशको रुपमा नभई लिम्बु जातिका नेताहरुद्वारा
आधिपत्य स्वीकार गरिएको रुपमा अंकित गरिएको छ । सम्भवतः राई र देवान भन्ने पदवी अठारौं
शताव्दीको अन्त्यतिर किरात भूमि नेपालमा एकीकरण गरिनुभन्दा पहिले नै सेन वंशका राजाहरुले
नै प्रदान गर्ने गरेका थिए र हाल यी पदवीहरु जातिवाचक नामको रुपमा पनि उपयुक्त हुन्छन्
। खम्बु र याक्खा जातिका प्रतिनिधिहरु क्रमशः राई र देवानमा परिणत भइसकेका छन् । सुव्बा
भन्ने पदवी चाहिं लिम्बु जातिका प्रतिनिधिहरुले नेपालको एकीकरणको समयदेखि प्रयोग गर्न
थालेको प्रतीत हुन्छ । यहाँनेर कुन कुराको पनि उल्लेख गर्नु युक्तिसंगत हुनेछ भने सम्भवतः
तिव्बत मूलको याक्खा जाति अहिले राई (खम्बु) जातिमा पूर्णतः सम्मिलित भइसकेको
छ ।
प्रसिद्ध रसियाली नेपालविद् इल्या बोरीसोभिच रेद्कोले
लेखेका छन् : ,,पूर्वी हिमालयका नृवंशहरुलाई केन्दीकृत नेपाल राष्ट्रमा समावेश
गरिएपछि किरात भूमिमा खश जातिको प्रसारको प्रक्रिया तिब्र भयो,, (३९, पृ. २३१) । उन्नाईसौं
शताव्दीको अन्त्यतिर ,,किपटअन्तर्गतको जमीनमा निकै कटौती भयो,, । कारण
के त भने आप्रवासीहरुको हातमा पर्न गएको जग्गाजमीन सन् १८८६ को सनदबमोजिम रैकरमा परिणत
गरियो अर्थात् यस्तो जमीन राज्यको स्वामित्वमा गयो । यसरी पहिले लिम्बुहरुको मातहतमा
रहेको जग्गाजमीन बिस्तार बिस्तार रैकरमा परिणत गर्ने प्रक्रिया चलिरह्यो । किपटअन्तर्गतको
भूमिमा कटौतीले गर्दा लिम्बु जातिको आर्थिक अवस्था बिग्रँदै गयो र उनीहरुमा असन्तोष
बढ्दै गयो । उक्त सनद जारी गरिएपछि ,,सुव्बाहरुले कैयौं पटक ब्राह्मणहरुलाई प्रदान गरिएको
जग्गाजमीनमा लिम्बु जातिको स्वामित्व पुनः स्थापित गर्ने अनुरोध गर्दै सरकारसमक्ष बिन्तीपत्र
चढाएका थिए तर हरेक पल्ट उनीहरुको अनुरोध अस्वीकार गरियो,, (३९, पृ. २३९) । परन्तु
सन् १९०१ मा स्थानीय बासिन्दाहरुलाई शान्त तुल्याउने नीतिको अनुसरण गर्दै किपट जग्गाको
स्वामित्व बेचबिखन, भोग बन्धकी वा अन्य
कुनै पनि प्रकारले लिम्बु जातिका प्रतिनिधिहरुबाहेक अन्य व्यक्तिहरुमा हस्तान्तरण गर्नमा
रोक लगाउने सनद जारी गरियो । जे जसो भए तापनि नेपाल सरकारले किपट प्रथाको सीमितीकरण
र रुपान्तरणको प्रयास जारी नै राखेको थियो ।
सात साल (सन् १९५०-१९५१) को जनक्रान्तिपश्चात्
नेपाली समाजमा आएको परिवर्तनले कीपट प्रथामा पनि हेरफेर ल्यायो । त्यतिञ्जेलसम्म कीपटको
जग्गामा सर्वसाधारण लिम्बुहरुको स्वामित्व गुमिसकेको थियो, यद्यपि
धनीमानी व्यक्तिहरु यस्तो जग्गामा आफ्नो स्वामित्व कायमै राख्न प्रयत्नशील रहेका थिए
। नेपाली विद्वान् वैरागी काइँलाले सूचित गरेअनुसार ,,वि.सं. २०१९ मा
पल्लो किराँतमा भूमिसुधार कार्यक्रम लागू भई लिम्बू जातिको किपट रैकर सरह राजीनामा
हुन थालेपछि सुकुम्बासी हुन पुगेका सबै थरका लिम्बूहरुझैं लोवा थरका लिम्बूहरु पनि
झापा, मोरंग तथा सुन्सरी जिल्लातिर फडानी गरी, अर्काको
जग्गा कमाई वा जग्गा किनी खेतीपातीमा संलग्न भएका छन्,, (५, पृ. ११) ।
यसै किसिमबाट जग्गाजमीनमा लेप्चाहरुको सामूहिक स्वामित्वमा
पनि ठूलो हेरफेर आयो । जतिखेर अंग्रेजहरु ,,पहिलो पल्ट दार्जीलिंगमा पुगे, त्यो ठाउँ
वनजंगलले ढाकिएको थियो र पहाडी पाखोमा कतै कतै मात्र ससाना गाउँहरु अवस्थित थिए । यस्ता
गाउँहरुमा प्राचीन लेप्चा जातिका सन्ततिहरु जीवनयापन गर्दै थिए । मंगोल बान्कीका ती
मानिसहरु त्यस इलाकाका पहाडी वनजंगलका आदिवासी थिए र उनीहरु वनमा शिकार गरेर, कन्दमूल
बटुलेर र जंगल फाँडी कुनै प्रकारको खेतीपाती गरेर जीवन धान्दै थिए,, (४३, पृ. २६) । केही
समयअघिसम्म पनि पहाडी क्षेत्रको जग्गाजमीन लेप्चा समुदायको स्वामित्वमा थियो तर पछि
यस्तो जग्गामा केही परिवारहरुको स्वामित्व कायम हुन गयो । गाउँको मुखियाले हरेक परिवारलाई समुदायको निमित्त वर्षको तीन दिन निशुल्क काममा लगाउने अधिकार पाएको थियो ।
तर उसले आफ्नै व्यक्तिगत फाइदाको लागि यस अधिकारको व्यापक उपयोग गर्न थाल्यो ।
चार्ल्स स्टोनरले “शेर्पाहरु र हिममानव” शीर्षकको आफ्नो पुस्तकमा
लेखेका छन् : ,,अतीतका
शताव्दीहरुको धुमिल पर्दाभित्र लुकेको परापूर्वकालमा सिक्किमको सम्भवतः सम्पूर्ण पहाडी
क्षेत्र लेप्चा जातिको आधिपत्यमा थियो । यो जाति तिव्बतको शासनअन्तर्गत नपरेसम्म र
बुद्धधर्ममा परिणत नगरिएसम्म यो स्थिति कायम रह्यो । पछि उनीहरुलाई पश्चिमतर्फबाट नेपालवासीहरुले
च्याप्तै ल्याए भने दक्षिणतर्फबाट अंग्रेजहरु आए । यसरी विभिन्न किसिमको सांस्कृतिक
दवावमा परेका लेप्चाहरु तितरवितर हुँदै विभिन्न ठाउँमा छरिन पुगे,, (४३, पृ. २६-२७) ।
निष्कर्षस्वरूप के भन्न सकिन्छ भने युगौंदेखि विभिन्न ,,सांस्कृतिक दवाव,, भोग्दै
आएको किरात जातिले अद्यापि आफ्नो मौलिकता कायमै राखेको छ र आफ्नो जातीय परम्परालाई
सुरक्षित राख्दै र परिमार्जित गर्दै आधुनिकतातर्फ
अग्रसर भइरहेको छ । किरात जातिको पुराकथा तथा किम्बदन्तीहरुको सम्पन्न भण्डार सुरक्षित
रहेको छ र आज
पनि तिनको महत्व कम भएको छैन । तिनको आधारमा कतिपय आधुनिक साहित्यिक कृतिहरु (विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास
“सुम्निमा”, कवि बिक्रम
सुब्बाको काव्यकृति “सुम्निमा र पारुहाङ” आदि) को पनि रचना भएको छ र हुँदै रहनेछ ।
No comments:
Post a Comment