Friday, May 6, 2016

इस्वी संवत्को प्रारम्भ र नेपालमा त्यसको प्रचलन (डा. बसन्तप्रसाद रिजाल, पेशल कुमार निरौला)

इस्वी संवत्को प्रारम्भ र नेपालमा त्यसको प्रचलन
डा. बसन्तप्रसाद रिजाल
पेशल कुमार निरौला
नेपाल र ऐशियाली अनुसन्धान केन्द्र, कीर्तिपुर

विषय प्रवेश
कुनै पनि मुलुक, क्षेत्र वा समुदायमा प्रचलनमा रहेका संवत्का केही ठोस आधार र सुरुवातका विभिन्न कारणहरू रहेका हुन्छन्। कुनै संवत् विजयोत्सवको स्मरणार्थ सुरु गरिन्छ भने कुनै घटना विशेेषकासंझनामा अपनाइन्छ। पूर्वीय परम्परामा मुलुकलाई ऋण मुक्त गर्ने व्यक्तिले पनि नयाँ संवत् चलाएको पाइन्छ। यदाकदा कुनै संवत्को उठान किंवदन्तिबाट पनि आएको पाइन्छ। पूर्वीय मुलुकका केही स्थानमा भने आआफ्ना हिसाबले संवत्को उठान गरेको देखिन्छ। संवत् उठानका आधार जे जति भए पनि सबै एकै साथ प्रयोगमा रहन सक्दैनन्। त्यसकारण कति संवत्हरू अल्पायु कै हुन्छन् भने केही लामो समयसम्म व्यवहारमा रहेका हुन्छन्। 

अहिले विश्वमा प्रचलनमा रहेका अथवा सो नभएर गणनामा मात्रै रहेका केही संवत्हरू मध्ये हिव्रु संवत् सबभन्दा पुरानो मानिन्छ। त्यो अहिले ५७७१७२ मा रहेको छ। हिन्दू सँस्कृति भित्र प्रयोगमा नरहेको तर गणनामा रहेका कलियुग संवत् हो। यो अहिले ५११२५११३ मा रहेको छ। अहिले नेपालमा मुख्य रूपमा प्रचलनमा रहेको संवत्को गणना २०६८ पुगेको छ, जसलाई विक्रम संवत् अथवा संवत् मात्रको नामले जानिन्छ। 

इस्वी संवत्को प्रयोग
अन्तर्राष्ट्रिय रूपमा आज सबै भन्दाबढी प्रयोग गरिने इस्वी संवत् हो। जिसस क्राइस्टलाई इश्वरको प्रतिनिधि मानी उनी जन्मेको विश्वास गरिएको समयलाई मापन गरी यो संवत् शुरु गरिएकेा हो। पादरी ग्रेगोरिले नयाँ इस्वी क्यालेण्डर बनाएको नभै केही सुधार सहित पुरानै जुलियन क्यालेण्डरलाई निरन्तरता (Anno Domini) दिएको मात्रै हो। यो संवत् B. C. (Before Christ) बाट शून्य वर्षमा नटेकी सोझै १ ब्।म् मा आउँछ। छैठौ शताव्दीमा व्गष्बिल र सोह्रौ शताब्दीमा गे्रगोरियन क्यालेण्डरले पनि सुधार सहित पुरानैलाई निरन्तरता दिएको हो।

अहिले इस्वी संवत् सन् २०११ चल्दैछ। यो लेखमा मूल रूपमा उठान गर्न खोजिएको विषय भनेको यहीँ इसाइ संवत् नै हो। यसलाई गे्रगोरियन संवत्को नामले पनि चिनिन्छ। यो औपचारिक रूपमा प्रयोगमा आउन थालेको सोह्रौ शताब्दीको लगभग अन्त्यतिर (१५८२) बाट हो। ग्रेगोरियन (पात्रो) प्रयोगमा आउनु पूर्व यसलाई जुलियन पात्रोको रूपमा चिनिन्थ्यो। जुलियस सिजरद्वारा स्थापित यो क्क्यायालेण्लेडर ग्रेगोरियन क्यालेण्लेडरले प्रतिस्थापन गरेपछि यसको प्रयोग क्रमश घट्दै गयो। जिसस क्राइस्ट इसाई धर्मका जनक भएका कारण यो संवत् उसको जन्मसँग जोडर संस्मरणात्मक रूपमा चलाइएको देखिन्छ।

अहिले विश्वमा प्रचलित संवत््हरू सूर्य र चन्द्रको गतिका आधारमा तय गरिएका छन्। यसलाई सूर्य पञ्चाङ्ग र चन्द्र पञ्चाङ्ग भनिन्छ। इस्वी संवत् सूर्य पञ्चाङ्ग हो। यसैगरी हिजरी संवत् चन्द्र पञ्चाङ्ग हो भने वि.सं.ले सूर्य र चन्द्र पञ्चाङ्ग दुबैको समन्वयात्मक प्रयोग गरेको छ। 

ग्रेगोरियन क्यालेण्डरलाई अनेक नामबाट जानिन्छ। यसलाई पश्चिमी अथवा क्रिष्टियन क्यालेण्डर पनि भनिन्छ। यो क्यालेण्डरलाई पोप ग्रेगोरी तेह्रौंले सुधारेको हुँदा उनकै नामबाट प्रचलित भएको हो।

ग्रेगोरिले क्यालेण्डर सुर्धानुपूर्व क्याथोलिक चर्चहरूले मूलतः जिसस क्राइष्टसँग सम्बन्धित पर्व इष्टरको दिन गणना गर्नका लागि जुलियन क्यालेण्डर प्रयोग गर्दथे। एउटा निश्चित उद्देश्यलाई प्राथमिकता दिइ बनाइएको हुनाले स्वभाविक रूपमा यसमा केही समस्याहरू थिए। गेग्रोरियन क्यालेण्डरले यस्ता समस्या समाधान गर्न खोजेको छ। ग्रेगोरियन क्यालेण्डरले सुधार गरेको पहिलो भाग जुलियन क्यालेण्डरमा प्रयोग गएिको Leap-year (अधिक मास) विधि हो। यस सुधार अनुसार चारले भाग जाने जति सबै Leap-year हुन्। तर यसमा चार ले भाग जाने तर त्यो एक सयले पनि भाग जाने भएमा त्यो Leap-year हुँदैन। उदाहरणको लागि ई.सं १९०० Leap-year हुँदैन। तर फेरि कुनै संवत् चार, एकसय र चार सयले समेत भाग जाने भएमा त्यो Leap-year हुन्छ। सन् १२००, १६०० र २००० आदि यसका उदाहरण हुन्।

जुलियन क्यालेण्डरमा पहिलेपहिले इष्टर पर्व मनाउने दिन निश्चित थिएन। यो पर्व आफ्नो मुलुक र आफ्नै गणना अनुसार २२ मार्च देखि २५ अप्रिल बिचमा कुनै पनि दिन मनाइन्थ्यो। ईस्टर मनाउने दिन आज पनि यदाकदा फरक देखिन्छ।

यो सुधारिएकेा क्यालेण्डरमा बाह्र महिनाका दिनहरू निश्चित गरिएका हुन्छन्। जस अनुसार April, June र November मा ३०/३० दिनका हुन्छन् र Feb मा Leap-year परेमा २९ दिन नत्र २८ र बाँकी चाहिँ ३१ दिनका महिनाहरू हुन्छन्।

गणितीय आधारमा विकास गरिएको ग्रेगोरियन क्यालेण्डरमा एक वर्षमा ३६५ अथवा ३६६ दिन हुन्छन्। यसको सामान्य गाणितीय भागलाई मात्रै बुझ्ने हो भने, एक वर्षमा ३६५ दिन ५ घण्टा, ४९ मिनेट र १२ सेकेण्ड  हुन्छ। चार वर्षमा यो ३६५ दिनमा जगेडा रहन आएका ५ घण्टा, ४९ मिनेट र १२ सेकेण्डलाई चारले गुणन गर्दा आउने वचत समय २३ घण्टा १६ मिनेट र ४८ सेकेण्ड हुन आएको प्रत्येक चारवर्षमा फ्रेबुवरीलाई २८ को सट्टा २९ गराइ मिलान गरिन्छ। यहाँ बुझ्नु पर्ने कुरा के छ भने, २३ घण्टाले एक दिन त बन्दैन त्यसै कारण माथि उल्लेखित गरिए बमोजिम ४ र १०० ले भाग जाने तर ४०० ले नजाने वर्ष जस्तै ई.सं १९०० लाई Leap-year नमानेर २३ घण्टा १६ मिनेटमा नपुगेको समयान्तरको मिलान गरिन्छ। यसका लागि हरेक ४०० वर्षमा ग्रेगोरियन क्यालेन्डरले ३ वटा Leap-year लाई हटाउछ।

गे्रगोरिलेे Leap-year र सौर्य पञ्चाङ्गमा सुधार गरेपनि प्रचलनमा ल्याउने सन्दर्भमा यसलाई सबैतिर स्वीकार गर्न लामै समय लाग्यो। पोपको आदेश मान्नु पर्ने केही यूरोपियन मुलुकमा पोपको धार्मिक आज्ञाले तोकेकै दिन अर्थात फ्रेवुवरी महिनाको २४ गते, (1582)बाट सुरु भयो। पोपको आज्ञा मान्नु नपर्ने चर्च र प्रोटेष्टेण्ट मुलुकका हकमा यो ढिलो गरि लागू भयो।

स्पेन र पोर्चुगल आदि मुलुकले यो सुधारिएको क्यालेण्डर त्यसै वर्षको अक्टोवर महिनाबाट सुरु गरे। संचार कठिनाइले गर्दा उनीहरूकै उपनिवेशमा भने यसको प्रचलनमा केही ढिलाइ हुन गयो। यसै गरि १५८३ को जनवरी महिनासम्ममा फ्रान्स, निदरल्याण्ड, वेल्जियममा यो प्रचलनमा आयो।

क्याथोलिक धर्मावलम्वीहरूले आफूलाई कयथोलिक नै बनाउन यो क्यालेण्डर रचेका हुन् कि भनेर धेरै प्रोटेष्टेन्ट मुलुकहरूले यसलाई प्रयोग गर्न हिचकिचाए। त्यसैले अलि ढिलो गरि प्रोटेष्टेन्ट मुलुकहरू जस्तैः डेनमार्क, जर्मनी आदिले १७०० तिर मात्रै यसलार्ई अपनाए। स्वीडेनले ग्रेगोरियन पाराकै क्यालेण्डर बनाउन वर्षौ प्रयासरत रह्यो। तर ग्रेगोरियन पात्रोमा भएको वैज्ञानिकतालाई समेट्न नसक्दा राजा चार्ल्स वाह्रौंको समयमा यो निरर्थक प्रयासलाई त्यागेर ग्रेगोरियन क्यालेण्डर नै १७५३ देखि स्वीडेनमा पनि अपनाइयो। यसै गरि फिनल्याण्ड रुसको अन्तर्गत भएको समयमा यसलाई धेरै स्वयत्तता दिइएका कारण फिनल्याण्डले एकैपटक जुलियन र ग्रेगोरियन क्यालेण्डर एकै साथ प्रयोग गर्दै रह्यो। फिनल्याण्ड १९१७ मा स्वतन्त्र भएपछि भने यो दोहोरो प्रणाली बन्द भई त्यहाँ ग्रेगोरियन क्यालेण्डर मात्र कायम रह्यो। संयुक्त राज्य अमेरिकाको पूर्वीय भागमा यस ग्रेगोरियन क्यालेण्डरले १७५२ मा प्रवेश पायो। यति व्यापकता पाइसकेको यो क्यालेण्डरको यूरोपका ग्रिस र रुसमा पछि मात्र प्रयोग भयो।

एसियामा भने जापान यो क्यालेण्डर प्रयोग गर्नेमा पहिलो मुलुक बन्यो। मेजिवंश पुन :  शक्तिमा आए पछि जापानले आफू उन्नत हुन पश्चिमी शैली अपनाउनु पर्ने कुरा अपरिहार्य ठान्यो। फलस्वरूप खानपीन, संचार एवं शिक्षामा समेत यसले पश्चिमी जीवनलाई नै अंगाल्न उचित ठान्यो। त्यसै सिलसिलामा जापानले १८७३ मा ग्रेगोरियन संवत् समेत प्रयोगमा ल्यायो। कोरियाले १८९५ मा यसको प्रचलनलाई अपनायो। राजतन्त्रको अन्त्य पछि १९१२ मा चीनले पनि यो सम्बत् प्रयोगमा ल्यायो। पछि युद्ध सरदारहरूको युगमा चीन विभाजित भएपछि उनीहरू धेरैले आआफ्नो स्थानीय क्यालेण्डर प्रयोगमा ल्याए। तर १९२० दशकको अन्त्यतिर धेरैहदसम्म पुन :  पश्चिमा पात्रोलाई नै प्रयोगमा ल्याइयो। चीनमा माओको नेतृत्वमा पश्चिमा पात्रोलाई पूर्णरूपमा प्रयोगमा ल्याइयो।

जनवरी १ लाई वर्षको पहिलो दिन मान्ने चलन व्गष्बिल अबभिलमभच ले ४५ द्यऋ बाटै गरेको हो। यद्यपी यो केही हदसम्म रोमन साम्राज्य कै समयमा सुरु भएकेा हो। मध्यकालका केही यूरोपीयन चर्चहरूले जनवरीको प्रथम दिनको सट्टामा अन्य कुनै महत्वपूर्ण घटना जस्तै जिसस क्राइष्ट जन्म अथवा ईष्टरको दिनलाई नै नव वर्षारम्भ मान्दथे। तर धेरै मुलुकले ग्रेगोरियन क्यालेण्डर प्रयोग नगरेकै अवस्थामा पनि जनवरी १ लाई नै नववर्षको पहिलो दिन मान्ने गरेका थिए।

नेपाल इ.सं.को प्रारम्भ र प्रचलन
एशियाका केही मुलुकमा गे्रगोरियन क्यालेण्डर छिटै नै प्रयोगमा आए पनि नेपालमा यसको प्रभाव ढिलै परेको देखिन्छ। हिमाली क्षेत्रको दक्षिणी भागमा धेरै ससाना राजा रजौटाको बीचमा बाँडिएको यो मुलुक दक्षिणमा भारत र उत्तरमा चीनका बीचमा आफ्नै प्रकारको पहिचान जोगाएर बसेको छ। सातौं शताव्दीमा तिब्बतसँग वैवाहिक सम्बन्धमा बाँधिएको यो मुलुकले पछि गएर धार्मिक र व्यापारिक क्षेत्रमा पनि आफ्नो संलग्नता बढायो। तर यूरोप र एशियाका, जापान र कोरियासँगको भौगालिक दूरताले गर्दा ग्रेगोरियन कयालेण्डर प्रचलनको प्रभाव यहाँ पर्ने स्थिति रहेन्। त्यसैले पनि नेपालले आफ्नै प्रकारका सम्बतहरू प्रयोग गर्दै रह्यो। बरु हामीले बुझ्नु पर्ने सामान्य कुरा के हो भने, यहाँ एउटै मात्र संवत् स्थायी हुन सकेन बरु एउटै समयमा एक भन्दा बढि संवत् प्रयोगमा आएको पाइन्छ।

नेपालमा प्रयोग भएको पहिलो संवत् शक संवत् मानिन्छ। यसलाई शालिवाहन संवत् पनि भनिन्थ्यो। गणनाका हिसाबले अहिले कार्तिक शुक्ल परेवा अर्थात् वि.सं.को कार्तिक १०, २०६८ देखि यो शाके संवत् १९३४ वर्षमा चलिरहेछ। नेपालको इतिहासको प्राचीनकालदेखि नै यो संवत् शिलालेख र अन्य अभिलेखमा प्रयोग भएको पाइन्छ। यसको प्रयोग पछि कम हुँदै आए पनि केही हदसम्म यो अझै चलन चल्तीमा रहेको देखिन्छ। नेपालको पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत पात्रोहरूमा यो संवत् धेर थोर रूपमा अझै व्यवहारमा रहेकै छ।

शक संवत्लाई पूर्ण रूपले विस्थापित गर्न नसके पनि यसपछि मानदेव संवत्ले स्थान पायो। यो संवत् केही शताब्दी चल्यो। राघवदेवको राज्यकालमा पशुपति भट्टारक संवत्का नामले स्थान पाएर केही शताब्दीपछि यसले नेपाल संवत्का नामले प्रसिद्धि पायो। मध्यकाल भरि यसले नेपाल मण्डलभित्र व्यापकता पायो र आज पनि धेरथोर रूपमा यो प्रचलनमा नै छ।
यदाकदा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरि यसको राजधानि काठमाडौंलाई नै बनाए पछि यहाँ नेपाल संवत्को स्थानमा क्रमशः विक्रम संवत् (वि.सं) को प्रचलन बढ्न थाल्यो भनिए पनि उपत्यका भित्र यो वि.सं को प्रचलन पनि अगाडि देखिनै थियो। भक्तपुर कुमारी चोकको जीतामित्रको अभिलेख (वि.सं १७३४) र वाहिरी धाराको अर्को शिलालेख (वि.सं.१७३५) र रणजित मल्लको पालाको बोडेमा प्राप्त ताम्रपत्रमा पनि वि.सं. १८२६ लेखिएको छ। पृथ्वीनारायण शाहपछि वि.सं. को प्रयोग बढ्दै गयो। कर्णाली प्रदेशको दामोपालको अभिलेखमा वि.सं १०३८ र बालेश्वरको अभिलेखमा जुम्लाका राजा क्राचल्लले वि.सं. १२६४ मा राजगद्धिमा बसेको उल्लेख भएबाट यो संवत् नेपालमा पूर्वमध्यकालदेखि नै चलेको पाइन्छ। यस पछि अनेकानेक अभिलेखहरूमा वि.सं. को प्रयोग भएको देखिन्छ। भगवानलाल इन्द्राजीले मानदेवको अभिलेख संवत् ३८६ लाई शक संवतको सट्टा विक्रम संवत् मानेका छन्। तर धेरै विद्वान्हरूको विचारमा मानदेवको यो संवत्को सम्बन्ध शक संवत्सँग रहेको छ। त्यसैगरी प्राचीनकालको अंशुवर्माको अंशु संवत् र नेपाल संवतको समेत सम्बन्ध शकसँग नै रहेको मानिएको छ। 

नेपालमा ग्रेगोरियन क्यालेण्डरको प्रयोग भने धेरै पछि भएको देखिन्छ। यस्तो हुनुको कारण यो क्यालेण्डर प्रयोग गर्नेसँग नेपालको संगत नहुनु नै हो। नेपालको इतिहासको मध्यकालमा कान्तिपुरका राजा प्रताप मल्लको समयमा दुइपादरीहरू तिब्बतबाट नेपाल हुँदै भारत जाने सिलसिलामा प्रताप मल्ललाई भेटेका थिए। यति हुनुमात्र ई.सं. प्रयोगका लागि पर्याप्त थिएन। कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाशका पालामा यहाँ रहेका इसाई धर्मप्रचारकहरूलाई पृथ्वीनारायण शाहल्ो देश निकाला गरेपछि निकालिनु पूर्व यहाँ ई सं को उनीहरूकै बीचमा प्रयोग भएको अनुमान लगाउन सकिन्छ। ई. सं. प्रयोग गर्नेहरूनै मुलुकबाटै निकालिए पछि नेपालमा यो संवत्को प्रयोगको सम्भावना टाढा रह्यो।

यसो भए पनि आफ्नो राज्य जोगाउन जयप्रकाश मल्लले अन्तिम समयमा अंग्रेजी सहायताको याचना गर्दा किनलकको नेतृत्वमा फौज उपत्यका आउन खोज्यो। यी कुराहरूको चिठीपत्रमा इ.सं. नै प्रयोग भएको पाइन्छ। पृथ्वीनारायण शाहले उपत्यका जितेपछि पनि मित्रता र व्यापार सुरु गर्न जेम्स लोगनको नेतृत्वमा प्रतिनिधिम48डल पठायो। यसले के कति सफलता हासिल गर्‍यो भन्दा पनि यस सम्बन्धमा भएका पत्राचारहरूले इ.सं. प्रयोग गरेको कुरा यहाँ महत्वपूर्ण देखिन्छ। 
पृथ्वीनारायण शाहले मकवानपुर विजय गरेपछि त्यस अन्तर्गतका मधेशी भूभाग यिनले प्राप्त गरे। तर कतिपय त्यस्ता भूभागमा पहिलेदेखि नै स्वामित्व सम्बन्धी विवादमा अब पृथ्वीनारायण शाह परे। यस सम्बन्धमा पृथ्वीनारायणले विशेषतः दिनानाथ उपाध्यायलाई कलकत्ता पठाई धेरै कुरा सुल्टाए। यस्ता काम कारवाहीले इ.सं. का लागि मार्गहरू प्रसस्त गर्दै लगे। 

बहादुर शाहको समयमा नेपाल भोट, चीनले आक्रमण गर्दै नेपाल उपत्यकाको जीतपुर फेदीसम्म आइपुगेको हुनाले बहादुरशाहलाई यो थेग्न हम्मे परेको थियो। त्यसकारण आफ्ना पिता पृथ्वीनारायण र आफ्नै पनि अंग्रेजसँग टाढा रहने नीति त्याग्दै इस्ट इन्डिया कम्पनीसँग सैनिक सहयोग मागे। यस मौकाको फाइदा उठाई अंग्रेजले उनीहरूको तर्फबाट अब्दुल कादिर खान र नेपालको तर्फबाट गजराज मिश्रको प्रयत्नबाट सन् १७९२ मा ईष्ट इण्डिया कम्पनी र नेपालको सप्तसुत्रीय सन्धि भयो। यो सैनिक सहायता त प्राप्त भएन तर युद्ध सकिएपछि कर्णेल कर्कप्याटि्रकको नेतृत्वमा नेपाल र चीनको बीच मध्यस्थता गर्न एक प्रतिनिधि मण्डल नेपाल आयो। नेपालमा यसको आफ्नो तोकिएको काम नभएको हुनाले कर्कप्याटि्रकले नेपालको इतिहास लगायतका विषयहरू समेटेर पुस्तक लेखे। यो सन्धि र पुस्तकमार्फत ग्रेगोरियन संवत्को प्रयोग नेपालमा अरु अगाडि बढ्यो। कर्कप्याटि्रकले आशातित सफलता प्राप्त नगरेको हुनाले नेपालसँग पछि सम्बन्ध बढाउन अब्दुल कादिर खान सक्रिय रहे। 

यस पछि पनि नेपालमा अंग्रेजको आँखा लागिरहेकै हुनाले इस्टइन्डिया कम्पनीसँग पत्राचार हुँदा ई.सं. को पनि प्रयोग हुँदै गयो। पृथ्वीनारायण शाहको मृत्युपछि नेपाल दरबार अस्थिरतातर्फ धकेलिएको हुनाले अंग्रेजहरू नेपालसँग आफ्नो अनुकुल सम्बन्ध बढाउन प्रयत्नरत थिए। यसै प्रसँगमा नेेपाल दरबार छाडि राजा रणबहादुर बनारस आएको मौकामा अंग्रेजले सन्. १८०१ मा नेपाल दरबारसँग सन्धि गर्‍यो। सन्धिअनुसार क्याप्टेन नक्स अंग्रेजी प्रतिनिधि भई काठमाडौं आए। तर उनको बसाई सुखद र फलदायी भने भएन। यसको बढी प्रयोग नेपाल अ्रंग्रेज युद्ध (ई.स. १८१४१९१६) मा भएको देखिन्छ। यो युद्धपछि भएको सुगौलि सन्धिले नेपालमा ई.सं. को प्रयोगलाई निरन्तरता दियो। युद्ध समाप्ती पछि नेपालमा अंग्रेज प्रतिनिधि र पछि विविध हैसियतमा लामो समय नेपालमा र बाहिर बसि नेपालको इतिहास, सँस्कृति र अन्य विविध विषयमा अध्ययन गरेका ब्रायन हड्सनले पनि स्वभाविक रूपमा नै ई. स. को प्रयोग गरे।

नेपालको इतिहासमा राणा शासनको सूत्रपात गर्ने जङ्गबहादुरले अंग्रेजसँग टाढा रही चीनसँग दोस्ती बढाउने पुराना वैदेशिक नीति उल्टाई अंग्रेजसँग मित्रता बढाए। उनी स्वयं पनि बेलायत र फ्रान्स भ्रमणमा गए। यिनले नेपालमा दरबारकै लागि मात्रै भएपनि अंग्रेजी शिक्षा भित्रायाए। यि सबै विकासक्रमले नेपालमा ई.सं. का प्रयोगका लागि आधार बन्दै गयो। चन्द्रशमशेरले आफूले इन्ट्रेन्स उर्त्तीण गरेको हुनाले र यिनले पनि वेलायत भ्रमण गरेको हुनाले यिनी अंग्रेजतर्फ ढल्किएका थिए। यिनको समय अगाडी र यिनकै समयमा पनि नेपालमा अंग्रेजी प्रभाव बढ्दै गए तापनि ई.सं.को प्रयोग आन्तरिक रूपमा हुन सकेन। खालि व्यक्तिगत र विदेश सम्बन्धका पत्रहरूमा मात्र सीमित रह्यो। बरु चन्द्र शम्शेरले वि.सं.लाई नै मुलुकको आधिकारिक संवत् बनाए। 

सन् १९५१ मा शाहहरूको राजकीय शक्ति पुनस्थापना भए पछि नेपालको वैदेशिक नीतिमा परिवर्तन भयो। नेपालको विदेशी मुलुकहरूसँग दौत्य सम्वन्ध बढ्दै गयो। नेपालीहरू पनि विदेश घुम्न पाउने अवस्था सृजना हुँदै गयो। भ्रमण गर्ने प्राज्ञिक र सरकारी, गैह्रसरकारी क्षेत्रका विद्वत्वर्गहरूको चिठीपत्रहरू आदान प्रदान हुँदा ईश्वी संवत्को प्रयोग भयो। 

नेपालमा वि.सं. को प्रचलन र महत्व जुन जुन राष्ट्रहरू विदेशीको कब्जामा परेजस्तो भारत, चीन, वर्मा, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायत कैयौं देशमा ईश्वी संवत् र अंग्रेजी भाषालाई जवरजस्ती प्रचलनमा ल्याइयो। तर नेपालमा साम्राज्यवादी शक्तिको जोड नचलेकोले नेपालमा भने पहिले देखि चलिरहेको विक्रम संवत् र अन्तरजातीय भाषाको रूपमा प्रचलित भइसकेको नेपाली भाषाले निरन्तरता पाइरह्यो। 

विक्रम संवत्को तुलनामा नेपाल संवत् र शक संवत् किन व्यवहारिक हुन सकेनन्? यसको कारण विक्रम संवत्का वर्षमा ३६५ दिन र नेपाल र शक संवत् ३५४ दिन हुँदा अरु व्यवहारिक हुन सकेनन्। सूर्यमान अनुसार भएकोले विक्रम संवत् निश्चित र वैज्ञानिक ठहरिएको हो। 

यस तथ्यलाई मध्यनजर राखेर हिसाब गर्दा विक्रम संवत् सूर्यसँग सम्बन्धित हुने भएकोले विक्रम संवत्मा ग्रह, नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन्। जस्तै विशाखा नक्षत्रबाट वैशाख, जेष्ठाबाट जेष्ठ, अस्लेशाबाट असार, श्रवणबाट श्रावण, भाद्रा (पूर्व र उत्तर) भाद्र, अश्विनी नक्षत्रबाट असोज, कीर्तिकाबाट कार्तिक, मिर्गसिराबाट मंसिर, पौष्य नक्षत्रबाट पौष, मघाबाट माघ, फाल्गुनीबाट फाल्गुण, चित्राबाट चैत्र आदिको अध्ययन गर्दा पनि विक्रम संवत् कति प्रकृतिसँग आवद्ध छ भन्ने स्पष्ट हुन्छ। यसको साथै विक्रम संवत् अनुसार हाम्रा चाडपर्व, संक्रान्तिमसान्तीहरूमा नेपाली समाजका सांस्कृतिक परम्परा चलेका छन्। साउने संक्रान्ति, माघेसंक्रान्ति, वर्षारम्भ, धान रोपाई, वालीनाली लगाउने/थन्क्याउने, इनारकुवा सरसफाई, लुतों फ्याक्ने जस्ता अनेकन पर्वहरू विक्रम संवत्को आधारमा चलेका छन्। 

यसैगरी नेपालकै सन्दर्भमा जङ्गबहादुर वेलायत यात्रा सकेपछि नेपाल आई मुलुकी ऐनलाई संग्रह गरी वि.सं. १९१० को मुलुकी ऐन भनी वि.सं. को उल्लेख गरे। 

नेपालमा राणा प्रधानमन्त्री रणोद्वीप सिंहको समयमा पं. वाचस्पति पन्तको प्रबन्धबाट वि.सं. १९४१ देखि नेपालमा पञ्चाङ्गको प्रयोग भयो भने चन्द्र शम्शेरको पालादेखि वि.सं. ले औपचारिक मान्यता पायो। 

आधुनिक नेपाल राष्ट्रको एकीकरण पछि वि.सं. ले सम्पूर्ण भागलाई जोड्ने कडीकै रूपमा रहन गएको पाइन्छ। शक संवत्, नेपाल संवत् भन्दा नेपालमा अघिपछि चल्दै आएको विक्रम संवत्को नेपालका टुक्रिएका ५४ वटै राज्यमा जुन व्यापकता पायो त्यो व्यापकता माथि उल्लेखित संवत्हरू भन्दा निक्कै बढी छ। स्वयम् काठमाडौं, पाटन, भक्तपुरमा पनि यसको निकै प्रयोग भएको पाइन्छ। 

निष्कर्ष
पछिल्लोकालमा आएर इतिहास, संस्कृति आदिका पुस्तक लेख्ने विदेशी लेखकहरू, कुटनीतिज्ञ आदिले ईश्वी संवत्कै प्रयोग गरेको पाइन्छ। त्यसैगरी नेपालले विदेशी मुलुकहरूसँग दौत्य सम्बन्ध वा व्यवहार गर्दा ईश्वी संवत्कै प्रयोग गर्‍यो। नेपालकै इतिहास संस्कृतिका क्षेत्रमा कलम चलाउने इतिहास र संस्कृतिविद्हरूमा वि.सं. चलाउने कि ई.सं. चलाउने सम्बन्धमा लामो वादविवाद रहेको देखिन्छ। डा. डिल्लीरमण रेग्मी प्रा. कमलप्रकाश मल्ल, प्रा.डा. तुलसीराम वैद्य, प्रा.डा. त्रिरत्न मानन्धर आदि ईश्वी संवत्को प्रयोग गर्ने र नयराज पन्त, योगी नरहरीनाथ, धनवज्र वज्राचार्य, दिनेशराज पन्त, ज्ञानमणि नेपाल आदि वि.सं. को प्रयोग गर्न अभियन्ताहरू हुन्। ईतिहास शिरोमणी बाबुराम आचार्यले दुबै संवत् गर्नुभयो। खासगरी वि.सं.लाई उहाँले कोष्ठभित्र राख्नुभएको पाइन्छ। अझ संशोधन मण्डलले त वि.सं. को प्रयोग गर्ने/गराउने प्रचारप्रसार गर्ने, प्रकाशन गर्ने आदिमा ठूलो भूमिका खेलेको पाइन्छ। अतएव, अहिलेसम्म कुनै विवाद नरही समग्र नेपालमा प्रयोगमा रहेको वि.सं. नै हरेक दृष्टिकोणले उपयुक्त भएको हुनाले ईश्वी संवत्को प्रयोग दैनिक आधिकारिक रूपले हुन अलिक अप्ठेरो महशुस हुन्छ। विदेशसँगका व्यवहारमा भने सदाझैं ईश्वी संवत्को उपयोग गर्दा खास अप्ठेरो देखिँदैन भन्ने हाम्रो आशय रहेको छ। 


तर पनि विक्रम संवत्लाई विस्थापित गर्नका लागि विक्रम संवत् र नेपाल संवत्का बारेमा झगडा गराउन विदेशीको निर्देशनमा जानेर वा नजानेर ईश्वी संवत् ल्याउने प्रपंचमा हामी लागिरहेका त छैनौँ भन्ने चाहिँ छलफलको विषय हो। 

No comments:

Post a Comment